• बुधबार, साउन १३ २०८३

मंसिर ४ को निर्वाचनका लागी १ करोड ३७ हजार मतपत्र छपाइ सकियो


बिहिबार, कार्तिक ३ २०७९
565
Shares

निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि धमाधम मतपत्र छपाइका काम गरिरहेको छ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका मतपत्र छपाइको काम भइरहेको हो।

आयोगका अनुसार बुधबारसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सकिएको छ।

छापिएकामध्ये प्रतिनिधि सभातर्फ ५० लाख १३ हजार र प्रदेश सभातर्फ ५० लाख २४ हजार मतपत्र छ।

योसँगै प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुराको प्रत्यक्षतर्फ मतपत्र छपाइ सम्पन्न भएको छ।

प्रदेश सभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछामको मतपत्र छपाइ सकिएको छ।

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ।

साथै समानुपातिक निर्वाचन प्रणालीतर्फ बिहीबारदेखि दोस्रो चरणको मतपत्र ढुवानी सुरू हुँदैछ।

पहिलो चरण अन्तर्गत प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ।

यसबाहेक निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्ला जिल्लामा पठाइसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार