गाेरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को क्षेत्र गोरखा २ मा सत्ता गठबन्धनले निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्टको अध्यक्षतामा आइतबार गठबन्धन दलका नेताहरूलाई राखेर निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।
प्रतिनिधि सभा उम्मेदवार निर्वाचन परिचालन कमिटीमा नेसपा जिल्ला अध्यक्ष यानप्रसाद भट्ट, नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विष्णु भट्ट र एकीकृत समाजवादीका यादव बस्नेतलाई राखिएको छ ।
गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ उम्मेदवार बनेका छन् ।
यस्तै गोरखा २ ‘क’ चार दलका आठ जना रहनेगरी निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसमा कांग्रेसबाट दिपक कँडेल र दीर्घमान गुरुङ, माओवादी केन्द्रबाट कमला नहर्की र विवश चिन्तन, एकीकृत समाजवादीबाट गणेश गिरी र मिग पनेरु, नेपाल समाजवादीबाट नारायण खत्री र प्रेम गुरुङ छन् । यस क्षेत्रबाट गठबन्धनका तर्फबाट नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले उम्मेदवारी दिएका छन् ।
यस्तै प्रदेश सभा ‘ख’ बाट चारै दलका आठ जना रहनेगरी निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसमा कांग्रेसबाट दिनेश खनाल र दिपक हमाल, माओवादीबाट दिपक देवकोटा र पूर्णकुमारी कँडेल, एकीकृत समाजवादीबाट टंक शाह र किशान श्रेष्ठ, नेपाल समाजवादीबाट तेजबहादुर गुरुङ र धनबहादुर गुरुङ छन् । यस क्षेत्रबाट गठबन्धनका तर्फबाट कांग्रेसका सुरेन्द्र राज पाण्डेले उम्मेदवारी दिएका छन् ।