गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गोरखाका दुवै क्षेत्रले देशकै नेतृत्व गर्न सक्ने उम्मेदवार पाएकाे बताएका छन् ।
शनिबार गोरखामा गठबन्धनका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै डा भट्टराईले यस्ताे बताएका हुन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई गोरखाले जनप्रतिनिधीका रुपमा पाउनु गाैरवकाे विषय रहेकाे बताउदै उनले आफुले सुरु गरेकाे विकासकाे अभियानले सार्थकता पाउनेमा विश्वस्त रहेकाे बताएका छन् ।
सम्बाेधनकै क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले गठबन्धनबाट गोरखा १ मा उम्मेदवार बनेका राजेन्द्र बजगाईकाे प्रशंसा समेत गरे ।
‘गोरखा पर्यटकिय हिसाबले निकै महत्व बाेकेकाे जिल्ला हाे, चुमनुब्री, धार्चेदेखि बुढीगण्डकी करिडाेर र तलका क्षेत्रहरुलाई समेत हामीले पर्यटकिय दृष्टिकोणले बिकास गर्नुपर्छ’ भट्टराईले थपे ‘यसका लागि बजगाईजी पर्यटन क्षेत्र बुझेकै ब्यक्ति हुनुनुहुन्छ, उहाँकाे जितले समग्र जिल्लाकाे विकासमा सकरात्मक प्रभाव पार्छ भन्नेमा म ढुक्क छु ।’
गोरखाकाे विकासका लागि नयाँ आयामकाे सुरुवात भएकाे बताउदै उनले उम्मेदवार छनाेटमा गठबन्धनले सुझबुझपूर्ण निर्णय गरेकाे समेत बताए ।
२०६४ सालदेखि निरन्तर आफुले गोरखाकाे दुवै क्षेत्रकाे विकासकाे अगुवाई गरिरहेकाले सक्षम ब्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्न पाएकाेमा आफु सन्तुष्ट रहेकाे समेत बताएका छन् ।