
गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाइ बहुमत दिन आम मतदातालाई आग्रह गरेका छन् ।

गृहमन्त्री खाणले नागरिकताविहीन नेपाली नागरिकहरूलाई नागरिकता दिन संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारुढ गठबन्धनलाई दुई तिहाइ बहुमत आवश्यक रहेको जिकिरसमेत गरे ।

मंगलवार काठमाडौंमा आयोजित गैर आवासीय नेपाली संघको वार्षिक साधारणसभामा बोल्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत गएर नागरिकता विधेयक प्रमाणीकरण नगरेका कारण गैर आवासीय नेपालीहरूलाई पनि नागरिकता दिने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नसकिएको उल्लेख गरे । गृहमन्त्री खाणले राष्ट्रपतिको सो गैर संवैधानिक कामको विरोध गरेर नागरिकता विधेयक प्रमाणीकरणका लागि दबाब दिनपनि गैर आवासीय नेपालीहरूलाई अनुरोध गरे ।
गृहमन्त्री खाणले नेपालमा लगानी भित्र्याउन पनि गैरआवासीय नेपालीहरूलाई आह्वान गरे । गैर आवासीय नेपालीहरूको लगानीको सुरक्षा गर्ने जिम्मेवारी सरकारले लिने उनको भनाई थियो । गृहमन्त्री खाणले विदेशमा रहेका हरेक नेपालीहरूको लगानीको स्वागत गर्ने, प्रोत्साहन गर्ने र त्यसको सुरक्षाको सुनिश्चितता गर्ने काम सरकारको रहेको पनि पटकपटक दोहो¥याए ।
गृहमन्त्री खाणले सरकारले गैर आवासीय नेपालीहरूको लगानीको सुरक्षाका लागि सुरक्षाकर्मीहरुको आवश्यक परिचालनको व्यवस्था मिलाउने आश्वासनसमेत दिए ।


