• बिहिबार, साउन १४ २०८३

गठबन्धन भागबण्डा: गोरखामा काँग्रेस-माओवादीकाे बराबर हैसियत


शनिबार, असोज २२ २०७९
1K
Shares

माेहसिन अलि मियाँ

गोरखा । आगामी मंसिर ४ मा हुने प्रतिनिधी सभा र प्रदेश सभाकाे निर्वाचनका लागि गोरखामा गठबन्धन दलविच भागबण्डा टुंगिएकाे छ ।

२ निर्वाचन क्षेत्र र ४ प्रदेश सभा रहेकाे गोरखाका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र वीच बराबर हैसियतमा भागबण्डा भएकाे हाे ।

जसमा क्षेत्र नम्बर १ नेपाली काँग्रेसकाे भागमा परेकाे छ भने २ नेकपा माओवादीले लिएकाे छ । गएकाे स्थानीय तह निर्वाचनमा दुई पार्टीले पाएकाे मत संख्याकाे आधारमै भागवण्डा भएकाे गठबन्धन निकट एक नेताले सिभिलखबरलाई बताए ।

जहाँ क्षेत्र नम्बर १ मा काँग्रेस बलियाे छ भने २ मा माओवादीकाे मत बढी छ ।

गोरखा १ मा स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा सबैभन्दा धेरै कांग्रेसको मत २७ हजार ८४ र दोस्रोमा माओवादी केन्द्रको २५ हजार ४७२ मत छ । सो क्षेत्रमा एमालेको मत १४ हजार ५६६ छ ।

त्यस्तै गोरखा २ मा माओवादी २२ हजार २५० मतसहित पहिलो छ भने २१ हजार १३६ मतसहित दोस्रो स्थानमा कांग्रेस छ ।

एमालेको मत ८ हजार हाराहारी र बाबुराम भट्टराई नेतृत्वको नेसपाको ७ हजार ५ सय मत रहेको छ ।

गठबन्धन निकट केन्द्रिय नेताका अनुसार प्रतिनिधि सभा तर्फ गोरखा १ काँग्रेसले पाउँदा उसले चिनकाजि श्रेष्ठलाई साे क्षेत्रमा उम्मेदवार बनाउने तयारी गरेकाे छ । तर निर्णय भने भइनसकेकाे बताइएकाे छ । यस क्षेत्रमा राजेन्द्र बजगाँई समेत आकांक्षी छन् ।

त्यस्तै गोरखा २ बाट माओवादीले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई उम्मेदवार बनाउने निर्णय नै गरिसकेकाे छ । यसअघि २०७४ मा चितवन ३ बाट एमाले समर्थनमा निर्वचित भएका प्रचण्ड आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि सुरक्षित स्थान खाेज्दै जनयुद्धकाे उद्गम स्थल र पहिलाे शहिदकाे नाम लिदै गोरखा आएका हुन् ।

त्यस्तै २ क्षेत्रमा गरी ४ प्रदेश सभामा समेत काँग्रेस र माओवादीले बराबर हैसियतमा भागवण्डा गरेका छन् । गोरखा १ काे (क) र २ काे (ख) माओवादी त्यस्तै १ काे (ख) र २ काे (क) मा काँग्रेसले आफ्नाे उम्मेदवार उठाउने सहमती बनेकाे बताइएकाे छ ।

जसमा १ काे (क) मा माओवादीले हरिराज अधिकारीलाई उम्मेदवार बनाउँदैछ । अधिकारी यसअघि यसै क्षेत्र अर्थात गोरखा १ बाट प्रतिनिधी सभामा निर्वाचित भएका साँसद हुन् । उनि संघबाट एक तह हटुवा हुदै प्रदेशमा झरेका छन् ।

यसै क्षेत्रकाे (ख) पाएकाे काँग्रेसले भने नन्दप्रसाद न्याैपानेलाई उम्मेदवार बनाउने तयारी गरेकाे छ । न्याैपाने हाल नेपाली काँग्रेस गोरखाका जिल्ला सभापति छन् ।

यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ काे (क) बाट कांग्रेसले सुरेन्द्रराज पाण्डेलाई उम्मेदवार बनाउँदैछ । पाण्डे यसअघि राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता थिए । उनि गण्डकी प्रदेशकाे भावी मुख्यमन्त्रीकाे उदेश्य लिएर प्रदेश सभामा उम्मेदवार बन्ने तयारीमा लागेकाे बताइएकाे छ ।

त्यस्तै गोरखा २ काे (ख) मा नेकपा माओवादीले बाबुराम निकट रमेश पाेखरेललाई उम्मेदवार बनाउने निश्चित बनेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार