काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा- २ बाट प्रतिनिधि सभा चुनाव लड्ने विषयमा छलफल थालिएको छ।
गोरखा–२ बाट चुनाव जित्दै आएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रचण्डका लागि गोरखा २ छाड्ने संकेत गरिसकेका छन्।
निकटस्थहरुसँग आफू कुनैपनि क्षेत्रबाट प्रत्यक्ष चुनाव नलड्ने डा भट्टराईले बताएका हुन्। २०७४ सालको चुनावमा गोरखा–२ मा तत्कालीन वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रको उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन्।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गोरखा-२ अन्तर्गत पर्ने वडाहरुमा अध्यक्षका उम्मेदवारहरुले पाएको मत एकीकृत गर्दा माओवादी बलियो देखिन्छ।
त्यहाँ माओवादीले २२ हजार २५०, कांग्रेसले २१ हजार ५७८, एमालेले ७ हजार ४८४, जसपाले ७ हजार ५०४ र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारले २ हजार ५२० मत पाएका थिए।
चितवन-३ बाट यसअघि प्रतिनिधि सभामा पुगेका प्रचण्डले आफ्ना लागि गोरखा–२ सुरक्षित हुने विषयमा निकटस्थहरुसँग छलफल सुरु गरेका हुन्।
उनी निकटस्थहरुले गरेको सर्वेक्षणले समेत प्रचण्डका लागि चितवन–३ सुरक्षित नरहेको संकेत गरेको बुझिएको छ।
चितवन-३ मा जित्न समस्या नभएपनि मेहनत बढी गर्नुपर्ने भएकाले अन्य् क्षेत्रमा पनि विकल्पका रुपमा छलफलमा आएको प्रचण्डनिकट एक नेता बताउँछन्।