पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना भाइरसभन्दा ‘ओली प्रवृत्ति’ खतरनाक भएको बताएका छन् । उनले यस्तो प्रवृत्तिलाई सदाका लागि बिदा गर्न आह्वान गरेका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले ‘ओली प्रवृत्ति’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति टिप्पणी गरेका हुन् । उनले भष्मासुर, हिटलर, स्टालिनलगायतको कार्यशैलीसँग ओली प्रवृत्तिलाई तुलना गरेका छन् ।
डा. भट्टराईले फेसबुकमा लेखेका छन्, ‘अति भएपछि खति हुन्छ भनिन्छ । त्यसैले अब छिटोभन्दा छिटो सबै पार्टीहरू, संसद, अदालत, मिडिया, नागरिक अभियन्ता र आम जनताको सक्रियतामा यो कोरोना भाइरसभन्दा खतरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाका निम्ति बिदा गरौँ ! नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ !’
भष्मासुरसँग तुलना गर्दै डा. भट्टराईले लेखेका छन्, ‘ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरुपयोग गर्दै आफ्नै पार्टीका नेता, सांसद, विपक्षी दल, मिडिया, नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र आतंकित पार्ने हर्कत गरिरहेको छ ।’
स्टालिनसँग तुलना गर्दै भट्टराईले ओलीलाई झापा आन्दोलनमा चौध वर्ष जेल बसेको जस भजाएर सत्ता पाएपछि निरंकुश शैली अपनाएको टिप्पणी गरेका छन् ।
‘पार्टीभित्र र बाहिरका विरोधीहरूमाथि विविध ढंगले दमन गर्ने, स्वेच्छाचारी र लहडी पाराले विकासका सपना बाँड्ने तर गलत नीति अवलम्बन गरेर देशमा चरम बेरोजगारी लगायत आर्थिक संकट निम्त्याउने, कोरोना संकटको बेला पार्टी फुटाउने खेलमा लागेर चरम गैरजिम्मेवारी र असंवेदनशीलता प्रदर्शन गर्ने काम गरिरहेछ,’ भट्टराईले लेखेका छन् ।