• बिहिबार, साउन १४ २०८३

निर्वाचन आयोगको प्रस्ताव : उम्मेदवारलाई चुनावी खर्च सीमा २५ देखि ३३ लाखसम्म


मंगलबार, असोज ११ २०७९
740
Shares

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा उमेदवारहरूले गर्ने खर्चको सीमा तोक्न मंगलबार दलहरूसँग छलफल गर्ने भएको छ ।

त्यसका लागि आयोगले १२ दलका प्रतिनिधिलाई आयोगको केन्द्रीय कार्यालयमा छलफलका लागि बोलाएको छ । आयोग प्रवक्ता शालिग्राम पौडेलले ११ बजे दलहरूसँग छलफल राखिएको बताए ।

निर्वाचन आयोग स्रोतका अनुसार २०७४ को तुलनामा उम्मेदवारले गर्न पाउने खर्च बढाउने तयारी गरेको छ । ०७४ को निर्वाचनमा प्रदेश सभातर्फ प्रति उमेदवार १५ लाख र प्रतिनिधि सभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकेको आयोगले यो पटक त्यसमा हेरफेर गर्न लागेको हो । त्यसका लागि आयोगले दलहरूलाई खर्च सीमाको प्रस्ताव अध्ययनका लागि पठाइसकेको छ । जसमा जिल्ला पिच्छे फरकफरक छ । 

प्रवक्ता पौडेलले खर्च सीमाबारे विभिन्न प्रस्तावमा छलफल भएको र तिनै प्रस्तावहरूमाथि सुझाव लिएर निर्णय लिने बताए । ‘वैज्ञानिक र तथ्यपरक ढंगले उम्मेदवारले गर्न पाउने खर्चबारे निर्णय हुन्छ । त्यसमा जिल्ला र निर्वाचन क्षेत्रको भुगोलदेखि जनसंख्या समेतलाई हेरिन्छ’, प्रवक्ता पौडेलको भनाइ छ ।

आयोगले तयार पारेको प्रस्तावमा १६५ निर्वाचन क्षेत्रलाई ५ वटा क्याटागोरीमा विभाजन गरिएको छ । जसमा २५ लाखदेखि ३३ लाखसम्म एक उम्मेदवारले खर्च गर्न पाउने प्रस्ताव छ । आयोगले गरेको प्रस्ताव अनुसार ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २५ लाख, २३ वटाले २७ लाख, ६६ वटाले २९ लाख, ४४ वटाले ३१ र २७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउनेगरी प्रस्ताव गरेको छ ।  

त्यस्तै निर्वाचन आयोगले सकभर आजैबाट निर्वाचन आचारसंहिता पुर्ण कार्यान्वयनमा ल्याउने भएको छ ।‘आचार संहिता कार्यान्वयन कहिलेबाट गर्ने भनेर निर्णय नै त भैसकेको छैन । तर अव छिटै निर्णय भएर कार्यान्वयनमा जान्छ’, आयोगका सहसचिव समेत रहेका पौडेलको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार