नेपाल मुस्लिम संघले तबलिगी जमातीहरूलाई तत्काल कोरोना भाइरस परीक्षण गराउन अपिल गरेको छ ।
जमातीहरूले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला चलेपछि संघका केन्द्रिय अध्यक्ष अब्दुल सत्तारले तत्काल स्थानीय तह र प्रशासनको सम्पर्कमा गएर कोरोना परीक्षण गराउन आह्वान गरेका हुन ।
उनले नेपालमा रहेका तब्लिक अगुवाहरुलाई जुन जिल्लामा भएपनि परीक्षण गराएर कोरोनामुक्त रहन आग्रह गरेका छन् ।
‘अझै पनि समय छ, नेपालमा रहेका तब्लिकका अगुवा साथीहरु कुन–कुन जिल्लामा को कहाँ छन्, तथ्यांक संकलन गरेर उनीहरुलाई तत्काल स्थानीय सरकारको सम्पर्कमा जाने वातावरण मिलाउन जरुरी छ’ अध्यक्ष सत्तारले भने ‘यसमा तब्लिगका अगुवाहरुले पहल गर्नुस, धार्मिक सद्भाव बिग्रिन दिनुहुदैन ।’
अध्यक्ष सतारले तब्लिक जमातीहरु संक्रमण फैलाउने समूह नभएको कुरामा विश्वस्त हुन आग्रह समेत गरे ।
जमाती समूह निःस्वार्थ धार्मिक समुह रहेकाले शंकाको घेराबाट नहेर्न सम्पूर्ण नेपालीमा उनले आग्रह समेत गरेका छन् ।
कोरोना विरुद्ध अहिले सबै एक मत भएर लड्नुपर्ने समय भए पनि जातीय र सामाजिक विभेद हुनेगरी समाजमा सोचको विकास हुन थाल्नु दुर्भाग्यपूर्ण भएको उनको भनाई छ ।
कुनै पनि संक्रमण जाति र वर्ग विशेष भनेर नफैलिने उल्लेख गर्दै उनले नेपाल सरकारले घोषणा गरेको लकडाउनका पालना गर्दै सामाजिक दुरी कायम गर्न सबैमा आग्रह गरेका छन् ।
त्यस्तै रमजानको महिनामा रोजालाई पूर्ण रुपमा कायम गरी तराविहको नमाज घरमै पढ्न समेत उनले आग्रह गरे । मस्जिदमा ४ जनाभन्दा बढी भेला नहुन पनि संघले मुस्लिम समुदायलाई आग्रह गरेको छ ।