रहमतुल्ला मियाँ
अहिले सामाजिक संजालमा छ्यापछ्याप्ती पाइएको बिषय का सन्दर्भमा केही बिष्लेषण गर्ने जमर्को गरेको छु।
कोरोना एउटा विशेष गुण भएको भाइरस जसले देश, समुदाय ,बर्ग लिङग,जात,धर्म, कसैलाई चिन्दैन र नातागोता पनि छैन। यो एक ब्यक्ति बाट अर्को व्यक्तिमा सर्ने भएको ले कसैले नचाहदा नचाहदै, प्रत्येक राज्य र विश्व को सबै शक्ति प्रयोग गर्दा पनि ब्यक्ति, परिवार, समुदाय, राज्य हुदै विश्वका करिब २२६ देशमा संक्रमण ले गाजेको छ।
संक्रमण रोक्न बिश्व एकजुट भएको तथ्य सबैका सामु घाम जत्तिकै छर्लङ्ग छ। यो त्यस्तो सजिलो कोसेलि होइन कि एउटा संग लिएर सजिलो संग अरुलाइ सुपुर्दगी गर्ने! अरुलाई आक्रान्त बनाउनु भन्दा पहिला आफु र आफ्ना परिवारलाई शिकार बनाउनुपर्ने भएकाले आजका दिन सम्म कुनै पनि ब्यक्ति ले कोरोना भाइरस ग्रहण गर्ने कोशिश गरेको पनि छैन र गर्ने पनि छैन, यो यथार्थता हो।
संसारमा विभिन्न वर्ग,जात,भाषा,धर्म,लिङ्ग,वर्ण,समुदायहरुले आफ्ना सर्बपक्षिय बिकासका लागि र आफ्नो हित,उदेश्य पूरा गर्न संस्थागत प्रयास गर्दछन।संस्थागत रुपमा नआएको,नदेखिएको, योजना,निर्णय र कार्यान्वयन नभएको कुरालाइ सम्बन्धित जात,धर्म,समुदाय,वर्ण,लिङ्ग सङग जोडेर हेरिनु हुदैन र वाञ्छित वा अवाञ्छित क्रियाकलाप कुनै कसैबाट हुन्छ भने त्यस्लाइ नितान्त व्यक्तिगत रुपमा लिनुपर्छ भन्ने सर्वव्यापी मान्यता हो।
तब्लिगी जमाअत सङग जोडेर आएका कुराहरुले केही प्रश्न उब्जाएको छ। के तब्लिगी जमाअत कोरोना संक्रमण फैलाउन उद्दत हो ? हो भने किन ? कहाँ र को बाट संचालित ? कुन उदेश्य पूरा गर्न ? तब्लिगी जमाअत कोरोनाको संक्रमण पछि गठन भएको हो ? यस्को गठन कुन उदेश्यका लागि भएको हो ? आफू बचेर अरुलाइ सार्न सक्छ ? सक्दैन, भने कमिला पनि मार्न नहुने, आत्महत्या पनि गर्न नहुने शिक्षा दिने इस्लाम धर्म र यो भित्रको एउटा समूह तब्लिगी जमाअतले के कोरोना फैलाउन आवश्यक छ ? सक्छ ?

नेपाल र भारत बाहेक करिब २२४देशका पत्रकार वा अन्य समुहबाट कोरोना संक्रमण कुनै जात,धर्म,समुदाय सङग जोडेर आएको छ?छैन भने भारत र नेपालका केहि पत्रकारले कुन अभिष्ट पूरा गर्न अफवाह फैलाइरहेका छ्न ?
यसमा हामी सबै गम्भिर हुन जरुरी छ र कुनै आग्रह पुर्बाग्रह नराखी आ-आफुले विश्लेषण गरौ। कुनै पनि सत्य तथ्य कुरा , घटना को सुचनाबाटआम नागरिक लाई सुसुचित गराउने काम पत्रकार को हो । पत्रकारले कलम चलाउनुअघी स्रोत उल्लेख र विश्लेषण गर्नुपर्छ वा पर्दैन?पङ्तिकारले जवाफदेहिता बहन गर्नु पर्छ पर्दैन ?
गलत सुचना दिन पत्रकारको धर्म बिपरित हुन्छ वा हुदैन? तुलनात्मक रुपमा कोरोनाको कारणले नेपालमा कम क्षेती भएकाले नेपालको अधोगति चाहनेले साम्प्रदायिक रंग दिएर नेपालिलाई बिभाजित बनाइ नेपालिको ध्यान अन्यत्र मोडेर कोरोना संक्रमण फैलाइ आफ्नो अभिष्ट पूरा गर्न खोजेका त होइनन ?
नेपालमा सनातन देखि बिश्वको नै अनुपम उदाहरणको रुपमा रहेको धार्मिक सहिष्णुतालाई खल्बल्याउने षड्यन्त्र त होइन?यी कारण होइनन भने पत्रकारले कुन अभिष्ट पूरा गर्नका लागि अफवाह फैलाइरहेका छन।
यस्को उचित जवाफ सम्बन्धित पत्रकारबाट माग्नु सबैको कर्तव्य हो।यदि आउदैन भने जसरी कोरोना विरुद्धको लडाइमा सहभागी हुन मुस्लिम संघसंगठन,धार्मिक गुरुहरु तथा केही सुझबुझ भएका ब्यक्तिहरुले समेत सरकारको नियम निर्देशन पुर्ण रुपमा पालना गर्न,मस्जिदमा भिडभाड नगरि घर घरमा नै नमाज पढ्न ,मदर्साहरु बन्द गर्न,लकडाउनको पालना गर्न सार्वजनिक रुपमा आह्वान र अनुरोध गरिरहेको बेलामा कुनै पनि ब्यक्तिबाट गल्ति भएको भए गल्तिको उचित सजाय दिनु पर्दछ।
तर मानविय गल्तिलाइ समूह,जात,धर्म सङग जोडेर भ्रम सिर्जना गर्ने पत्रकार/अन्य समूहका बिरुद्दमा पनि एकजुट भइ संकटको सामना गर्न र नेपाल सरकारको लकडाउनको पुर्ण पालना गर्न तथा कुनै संकट भएमा सम्बन्धित सरोकारवालालाई जानकारी गराउन आमा बा, दिदिबहिनि, दाजुभाई लगायत सरोकारवाला सबैलाइ हार्दिकअनुरोध गर्दछु।
खोदा हाफिज।
लेखक मियाँ गोरखा नगरपालिका- २ का वडाध्यक्ष एंव नेपाल मुस्लिम संघ, राष्ट्रिय समितिका सचिव हुन ।