
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेतालाई गाली गरेर होईन, मत बदलेर देशको अवस्था बदल्ने बताएका छन् ।
बुधबार स्यांग्जाको पुतलीबजार नगरपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले जनताको मुहारमा हाँसो र खुशी ल्याएर मात्रै आफू मर्ने बताएका हुन् ।
देशमा गरिखाने वातावरण नबन्दा सम्म जनताको भाग्य पनि नबन्ने ठोकुवा गरेका थिए।

जनता अहिले पीरमर्कामा भएको र यसको कारण अहिलेका ठुला भनिएका राजनीतिक दल भएको बताउँदै लिंग्देनले राप्रपा मात्रै जनताको दुख बुझ्ने पार्टी भएको दाबी गरे । जनताले मत परिवर्तन नगर्दासम्म गरिखाने वातावरण नबन्ने भन्दै उनले राम्रो मान्छे र राम्रो पार्टीलाई आगामी चुनावमा जिताउन आग्रह गरे ।

‘भाग्यलाई दोष दिएर मात्रै हुँदैन । साँच्चै परिवर्तन चाहने हो भने तपाईले आफ्नो मत परिवर्तन गर्न जरुरी छ ।’ उनले भने (‘चुनावमा राजनीतिक नेतृत्व चयन गर्दा सबैभन्दा चनाखो हुनुपर्ने बेलामा प्रलोभनमा परि सजिलै गलत मान्छेलाई भोट हाल्दा सबैले दुस्ख भोग्नुपरेको छ ।’ उनले त्यसैकारण यो पटक जनतालाई कसैको प्रलोभनमा नपर्न र सोँचेर, बुझेर मात्र मतदात गर्न आग्रह गरे ।
तीन दशकमा संसारका कैयन् गरिब मुलुकहरुले आर्थिक रुपमा ठुलो फड्को मारिरहँदा नेपालमा अझै पनि झोलुंगे पुल अभावमा छटपटाउनुपर्ने अवस्था विद्यमान रहेको बताउँदै उनले यो अवस्था काँग्रेस र कम्युनिष्टहरुको कारणले आएको आरोप लगाए । ‘देशलाई तीन दशकसम्म नेतृत्व गरि भड्खालोमा हाल्ने यी काँग्रेस र कम्युनिष्टलाई फेरि भोट हालेर राष्ट्रदोहनमा सहभागी नहुन म सबैसमक्ष अपील गर्दछु ।’ उनले भने ।
जनताले यी दलहरुलाई भोट नदिने हो भने यीनीहरु देश बिगार्नका लागि सक्षम नहुने भन्दै उनले जनता पनि यो दोशको उत्तिकै भागिदार भएको उनले तर्क गरे । ‘यो देश बनाउन अब जनताले मत परिवर्तन गर्न जरुरी छ ।
नेतालाई गाली गरेर मात्रै होईन, मत बदलेर मात्रै देशको अवस्था बदल्न सकिन्छ । र, राप्रपाले यो कुराको वकालत गर्दै आएको छ ।’ उनले भने । ‘राजनीति कुनै पेशाव्यवसाय होईन, उद्योग होईन, कुनै पेट पाल्ने सात पुस्ता सपार्ने माध्यम होईन ।’ राप्रपाले नेपालको राजनीतिमा एउटा सँस्कार बसाउन खोजेको उनले बताए ।


