• शनिबार, साउन ९ २०८३

सिंचाई याेजनाकाे काम पूरा गर्न पहल गर्छु : मन्त्री आचार्य, बजेटकाे दुरुपयाेग भयाे: स्थानीय


बुधबार, भाद्र २९ २०७९
1K
Shares

गोरखा । बजेट अभावमा अलपत्र परेका सिंचाई याेजनाहरुकाे काम अघि बढाउन पहल गर्ने गण्डकी प्रदेशका उर्जा तथा जलस्राेत मन्त्री हरीशरण आचार्यले बताएका छन् ।

मंगलबार गोरखाकाे सिरानचाेक गाउँपालिका ५ जरेवरमा अलपत्र २ सिंचाई याेजनाहरुकाे स्थलगत अनुगमनका क्रममा उनले याेजनाकाे बाँकी काम सम्पन्न गर्न बजेटकाे ब्यवस्थापनका लागि पहल गर्ने बताएका हुन् ।

गण्डकी प्रदेशका तत्कालिन भाैतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतकाे पहलमा उनकै खेतमा निर्माण भएकाे डिप ट्युबवेल सिंचाई याेजना अलपत्र परेकाे समाचार बाहिरिएपछि अनुगमन गर्न आएकाे बताउदै मन्त्री आचार्यले याेजना सम्पन्न गर्न आवस्यक बजेट विनियाेजन गर्न अर्थमन्त्रालयसंग पहल गर्ने आश्वासन दिएका हुन् ।

‘याे याेजना मेरै मन्त्रालय अन्तरगतकाे हाे तर म आउनुअघि नै निर्माण भएकाे रहेछ’ मन्त्री आचार्यले भने ‘यहाँ आएर हेर्दा काम पनि भएकाे रहेछ तर पूरा हुन अझै केहि बजेट आवस्यक देखियाे यसलाई सम्पन्न गर्न पहल गर्छु ।’

मन्त्री बस्नेतकाे खेतमा निर्माण भएकाे सिंचाई याेजना क्रमागत याेजना रहेपनि चालु आर्थिक बर्षमा बजेट विनियाेजन गर्न छुटेकाे स्विकार गर्दै मन्त्री आचार्यले अब २० लाख रुपैयाकाे हाराहारीमा बजेट भए साे याेजना सम्पन्न हुने प्राविधिक रिपाेर्ट आफुलाई प्राप्त भएकाे समेत जानकारी गराए ।

यसअघि साे याेजनामा भुमिगत डिप ट्युबवेल सिंचाई प्रणालीका नाममा ५८ लाख ५१ हजार ८ सय ९९ रुपैया खर्च भइसकेकाे अनुगमनमा सहभागी भुमिगत जलस्राेत तथा सिंचाई आयाेजना कास्कीका प्रमुख नारायण कृष्ण गणेशले जानकारी दिए ।

७८ मिटर गहिराे बाेरिङ्ग मार्फत पानी तानेर जरेवर फाँटका ५ हेक्टर जमिनलाई सिंचाई गर्ने उदेश्य राखिएकाे साे याेजनामा हालसम्म पम्पघर, ट्यांकी निर्माण, पम्पिङ्ग, ११ हजार भाेल्डकाे बिजुली लाइनकाे ब्यवस्थापन लगायतकाे काम सम्पन्न भइसकेकाे तर पानी वितरण प्रणालीकाे काम भने बाँकी रहेकाे उनले बताए ।

बजेट अभावका कारण काम अलपत्र परेकाे स्विकार गर्दै प्रमुख गणेशले किसानकाे माग अनुसार नै याेजना निर्माण भएकाे समेत बताएका छन् ।

त्यस्तै साे याेजना नजिकै रहेकाे अर्काे सिंचाई याेजनाकाे समेत मन्त्री आचार्य लगायतकाे टाेलीले अनुगमन गरेकाे छ।

गण्डकी प्रदेश सरकारकै ६० लाख रुपैया लगानीमा निर्माण भएकाे जरेवरफाँटमा साे सिंचाई याेजना समेत बर्षाैदेखि अलपत्र छ । दराैदी नदीकाे किनारमा इनार बनाएर लिफ्टिङ्ग मार्फत जरेवर फाँटकै २० हेक्टर भन्दा बढी खेतमा सिंचाई गर्ने याेजना अलपत्र बन्दा समेत सम्बन्धित निकाय माैन रहेकाे भन्दै स्थानीय आक्राेशित भएका छन् ।

‘राज्यकाे ६० लाख लगानी बालुवामा पानी भएकाे छ, याे सरासर सरकारी बजेटकाे दुरुपयाेग हाे’ स्थानीय किसान श्रेष्ठले मन्त्री आचार्य सामू आक्राेश ब्यक्त गर्दै प्रश्न गरे ‘इनार बनाएर पाइपलाइन बिच्छाउदैमा ठेकेदारलाई बजेट निकासा गर्न मिल्छ ?, खेतमा पानी आउन पर्दैन ?, के काे आधारमा बजेट पास भयाे ?’

स्थानीयका अनुसार साे याेजना २ बर्षअघि सकिएपनि हालसम्म जरेवरफाँटमा याे याेजनाकाे पानी भने आएकाे छैन ।

त्यस्तै बजेट अभावमै भुमिगत सिंचाई अन्तरगत गाेरखा नगरपालिका ३ घलाङ स्थित तत्कालिन मन्त्री बस्नेतकाे भित्रीबारीमा अध्ययन तथा अनुसन्धानका नाममा निर्माण भएकाे इन्भेष्टिगेसन डिप ट्युबवेल सिंचाई याेजना समेत अलपत्र बनेकाे छ ।

साे याेजनामा हालसम्म ३३ लाख १६ हजार रुपैया खर्च भएकाे आयाेजना प्रमुख गणेशले सिभिलखबरलाई बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार