• बिहिबार, साउन १४ २०८३

तनहुँमा रामचन्द्रलाई छाडेर बाराबाट चुनाव लड्ने मुडमा किसान श्रेष्ठ


बुधबार, भाद्र २९ २०७९
645
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा सहमति भए साझा उम्मेदवारका रुपमा बारा-४ बाट चुनाव लड्ने बताएका छन् ।

सिमरामा पार्टी कार्यकर्तासँग कुरा गर्दै उनले आफू आवश्यकताअनुसार बारा-४ बाट पनि चुनाव लड्नसक्ने बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ बाटै उम्मेदवार बन्ने बताएपछि नेता श्रेष्ठले आफु आवश्यकताअनुसार बारा-४ बाट पनि चुनाव लड्न तयार रहेको बताएका हुन् । ‘मेरो पार्टी एकीकृत समाजवादी र सत्ता गठबन्धनका नेताले बारा-४ मा उम्मेदवार बन्न निर्देशन दिए म यहाँ पनि आउन तयार छु ।

यसअघि जुन क्षेत्रमा जुन दलले जितेको छ सो क्षेत्रमा सोही राजनीतिक दलले पाउने समझदारी भए पनि सत्ता गठबन्धनबीच सहमति भए आफु तनहुँ क्षेत्र नम्बर १ छोडेर बारा–४ बाट पनि चुनाव लड्न तयार छु ।’

बारामा वर्षौंदेखि उद्योग–व्यवसाय संचालन गर्दै आएका श्रेष्ठलाई गठबन्धन दलका नेता–कार्यकर्ता र स्थानीय जनताले पनि बारा–४ मा आउन आग्रह गरेका छन् ।

विकासप्रेमी श्रेष्ठ बारा आए आफ्नो क्षेत्रको विकासमा योगदान पुग्ने उनीहरुको विश्वास छ । २०७४ सालमा भएको निर्वाचनमा श्रेष्ठले तनहुँ–१ बाट ३४ हजार ४ सय ९२ मत ल्याई बिजयी भएका थिए भने कांग्रेसका वरिष्ठ नेता पौडेलले २७ हजार ६ सय ९० मत मात्रै ल्याएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार