
विवेकशील साझाका पूर्वसंयोजक मिलन पाण्डेले विवेकशील अभियानलाई पुनर्गठन गर्न भेला बोलाएका छन् । पाण्डेले आगामी यात्रा र निर्वाचन रणनीति तय गर्न असोज ३ गते अगुवा भेला बोलाएको बताए ।
सोही भेलाबाट आउने निष्कर्षबाट पार्टीको भावी यात्रा तय गर्ने पाण्डेको भनाइ छ । विवेकशीलमा आएको लामो उतारचढावपछि अब पुनर्गठन गर्दै अघि बढ्ने पाण्डेले जानकारी दिए ।



‘हामीले बनाइरहेको निर्वाचन रणनीति अब सार्वजनिक गर्ने बेला आएको छ । साथै, अबको यात्राको रणनीति, निर्वाचन रणनीति तय गर्न हामीले हाम्रा अगुवा भेला यही २०७९ असोज ३ गते संविधान दिवसको दिन काठमाडौंमा बोलाएका छौँ । उक्त भेलाको छलफलबाट निस्केको निष्कर्ष अनुसार भावी बाटो तय गर्नेछौँ’, पाण्डेको भनाइ छ ।
उनले विगतमा विवेकशील साझाको यात्रा त्यति सहज नरहेको भन्दै सोचे जस्तो र विश्वास गरे जस्तो नभएको बताएका छन् । ‘पहिलो एकीकरण कार्यशैली फरक पर्नाले टिक्न सकेन । दोस्रो एकीकरण गर्दा विचार र कार्यशैलीमा करिब ८ महिना वार्ता गरेर, संवाद गरेर एकीकरण ग¥यौँ ।
तर, एकीकरण पत्रमा हस्ताक्षर गरिएको मसी सुक्न नपाउँदै स्वयं पार्टी अध्यक्षले सहमतिको ठिक विपरीत पार्टी विरोधी विचार ल्याए । पार्टीलाई गिजोले’, पाण्डेले भनेका छन्, ‘फलस्वरूप, पार्टीमा भाँडभैलो भयो । वैचारिक विवादले पार्टी कमजोर भयो । हामीले पार्टीको विधान विपरीत गरिएको जालसांजी र किर्ते विरुद्ध अदालतसम्म सङ्घर्ष जारी राख्यौँ ।’


