• बिहिबार, साउन १४ २०८३

समाजले नेता बनाएको ‘अदम्य अर्जुन’, समाजकै लागि…


शुक्रबार, भाद्र २४ २०७९
835
Shares

पोखरा । राजनीतिक चेतका लागि उनि २०६० साल तिरै तयार भइसकेका थिए । कम्युनिष्टका कार्यहरुबाट कलिलै उमेरमा उनि प्रभावित भए ।

नेकपा(एमाले)को ब्यानरमा आयोजना भइरहने कार्यक्रमबाट उनि बढी प्रभावित थिए । फलस्वरुपः २०६० साल ताका अनेरास्ववियुको स्कुल कमिटिमा उनि उपयुक्त देखिए र नेतृत्वको जिम्मा पनि पाए ।

ऊ बेला प्रायः ९ कक्षाबाट अध्यक्ष चुनिन्थे । प्रखर शैलीकै कारण सबैको सहमतिमा कक्षा ८ पढ्दै गर्दा जनचेतन उच्च माविमा अनेरास्ववियुको अध्यक्ष बनेका थिए । विद्यालयमा रेडक्रसको समेत सफल अध्यक्ष भएका उनि गाउँमै देउसी भैलो मार्फत उठेको रकम सामाजिक कार्यमा खर्चिन्थे ।

समाजलाई अघि बढाउने हुटहुटी उमेरसँगै बढ्दै थियो । समाजले उनिप्रति अझ बढी विश्वास गर्न थाल्यो , जब उनले तत्कालिन निर्मलपोखरी गाविस २, हाल पोखरा २१ स्थित अभियान मार्गमा गोरेटो बाटो निर्माणलासगि सशक्त पहल सुरु गरे ।

गोरेटो बाटोका लागि तत्कालिन स्थानीय विकास अधिकारी(एलडिओ) नरहरी बरालको प्रमुख अतिथ्यतामा ७ हजार मात्रै बजेट छुट्याइएको थियो । त्यति रकमले कुनै पनि हालतमा नपुग्ने भन्दै उनको नेतृत्वमा संघर्ष सुरु भयो । अन्ततः बाटोकालागि ७० हजार रुपैयाँ छुट्टीयो ।

सोही कार्यको मुल्यांकन गर्दै उनलाई अभियान युवा क्लबको अध्यक्ष बनाइयो, जतिबेला उनि मात्रै १७ वर्षका थिए । अर्जुन गिरी, अब निर्मलपोखरीका लागि नौलो नाम थिएन । समाजले आफूप्रति गरेको विश्वासलाई शिरोपर गर्दै क्लबकै अध्यक्ष रहँदा खेल मैदान र भवन पनि निर्माण गरे गिरीले ।

०६४/०६५ को समयमा गाविसमा मदिराकै कारण पारिवारिक देखि सामाजिक खललका गुनासाहरु आउन थाले । अभियान युवा क्लबका अध्यक्ष गिरीले नेतृत्व लिएर अन्य क्लब र आमा समुहको सक्रियतामा सिङ्गो गाविसलाई मदिरा मुक्त गाविस घोषणा गरिएको थियो । सामाजिक कार्यसँग पढाइमा अघि बढीरहेका गिरी खेलकुदमा पनि होमिए ।

सितोरियो कारतेका खेलाडी गिरीले ०६४ सालको जिल्ला स्तरिय प्रतियोगितामा गोल्ड मेडल हात पारे । खेलकुद क्षेत्रका लागि पनि अब ‘अर्जुन गिरी’ नौलो नाम रहेन । माध्यमिक तहपछि गिरीले उच्च माविमा पत्रकारिता विषय रोजे । पत्रकारितामै लागे । स्नातकमा पनि पत्रकारिता अध्ययनसँगै पत्रकारितालाई निरन्तरता दिए ।

अहिले त पत्रकारितामा पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर गरी लेकसिटी कलेजमा पत्रकारिताको स्नातक तहलाई पढाइरहेका पनि छन् । ताण्डव न्यूज डटकम उनको सम्पादकीय नेतृत्वमा चलिरहेको पोखराको विश्वसनीय अनलाइनमा पर्छ । पत्रकारितामा लाग्दै गर्दा नेकपा एमालेको भातृ संगठन प्रेस चौतारीको सदस्य भएका गिरी ०६८ सालमा प्रेस चौतारी कास्कीको सचिवमा चुनिए ।

पार्टीले दिएका विभिन्न जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्दै आएका गिरी प्रेस चौतारी, कास्कीको अध्यक्ष भए । अहिले पनि उनको नेतृत्वमा प्रेस चौतारी कास्की सशक्त छ । वर्षअघि विश्व कोरोना महामारीले आक्रन्त भयो । सबैका दैनिकि ठप्प भए । देशमा लकडाउन सुरु भयो । दैनिक ज्याला मजदुरीमा निर्वाह गरिरहेकाहरुलाई महामारीले चैनको सास फेर्न दिएन । गिरीको सक्रियता यतिबेला झन् बढ्यो ।

कोरोना कहरका कारण निभेका चुल्होहरुमा गिरी आगोको झिल्का बने । साथीभाई, ईष्टमित्र, देशविदेशमा रहेका शुभेच्छुकहरुलाई अनुरोध गरेर उनले तेल, दाल, चामल लगायतका खाद्यान्न सामाग्रीहरु वितरण गरे । कोभिड भई घरमै बसेकाहरुलाई औषधीमुलोको व्यवस्था समेत गिरीले गरेका थिए ।

यहि सक्रियतालाई मध्यनजर गर्दै पोखरा २१ वडा कार्यालयको आह्वानमा बसेको सर्वदलिय बैठकले उनलाई कोभिड नियन्त्रण समितिको संयोजक बनाएको थियो । पत्रकारितामा स्नातकोत्तर गरेका गिरीको ताण्डव न्यूज सञ्चालनमा छ । उनि पोखराकै लेकसिटी कलेजका प्राध्यापक समेत हुन् । विवेकात्मक जोश र कुशल नेतृत्व उनको बलियो पाटो हो ।

समाज होस् या पार्टीको विवाद, उनकै सहजिकरणमा टुङ्ग्यो लाग्थ्यो । उनको कार्यशैलीप्रति प्रभावित भएरै नेकपा(एमाले) कास्की जिल्ला कमिटिको सदस्यभएसँगै उनलाई पोखरा २१मा पार्टी ईन्चार्जको जिम्मेवारी दिइयो ।

पार्टीप्रति जनताको विश्वास बलियो बनाउन सफल देखिएका गिरी पछिल्लो स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारहरुलाई भारी मतले जित हासिल गराउन सफल भए । जनतालाई दुःख दिनु हुँदैन भन्ने सोंच राख्ने गिरी अन्यायमा परेका जो कोहीलाई न्याय निरुपणका लागि बलबुँताले भ्याएसम्म लाग्छन् । निडर र खोजमुलक पत्रकारिता, जनताले अधिक पत्याएको पाटो हो उनको ।

हालसम्म संलग्न रहेका संस्था वा संगठनमा आर्थिक पारदर्शीता कायम गर्दै चारित्रिक रुपमा पनि इमान्दार गिरीप्रति समाज एवं क्षेत्रको आशा बढ्दो छ । उनलाई पोखरा २१ सँगै कास्की क्षेत्र नं २(क)का अन्य वडाबासीले प्रदेश सांसदका रुपमा हेर्न चाहिरेका छन् । सामाजिक सञ्जालमा उनलाई उम्मेदवार बनाउन स्वतः स्फूर्त पोष्टहरु आइरहेका छन् ।

गिरीले टिकट पाए उक्त क्षेत्रमा भारी मतका साथ जित हासिल हुने अड्कल बाजी समेत भइरहेको छ । गिरीले जित्ने आधार के के छन् त ? नेकपा एमाले जिल्ला कमिटि कास्कीका सदस्य तथा पोखरा–२१ का इन्चार्ज अर्जुन गिरीकै नेतृत्वमा वडाध्यक्षलाई भारी मत अन्तरले विजय बनाए ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखरा–२१ मा एमालेका उम्मेदवार दिपक सुवेदीले गठबन्धनका साझा उम्मेदवार पूर्णबहादुर थापालाई ८ सय ४२ मत अन्तरले पराजित गरे । निर्वाचन क्षेत्र नम्बर २ को (क)मा रहेका ५ वडाहरु मध्ये पोखरा–२१ को मत अन्तर सबै भन्दा धेरै छ ।

वडा नम्बर २१ मा एमालेका दीपकप्रसाद सुवेदीले २६ सय ५३ मत ल्याएर निर्वाचित भएका थिए । गठबन्धनका साभा उम्मेदवार एकीकृत समाजवादीका पूर्णबहादुर थापाले १८ सय ११ मत ल्याएर पराजय भए । यस निर्वाचन क्षेत्रमा पोखरा–२१ सहित ७, १५, १७ र ३३ वडा छन् । उक्त वडाको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले ल्याएको मतलाई आधार मान्ने हो भने एमाले पहिलो स्थानमा छ ।

गएको स्थानीय निर्वाचनमा पोखरा १५ मा तोरणबहादुर बानियाँ २३ सय ३८ मत निर्वाचित भएका थिए । बानियाँले गठबन्धनबाट कांग्रेसका मिनबहादुर गिरीलाई उम्मेदवारलाई हराएका हुन् । गिरीले १७ सय २ मत ल्याएका थिए । वडा नम्बर १७ मा एमालेबाटै राधिकाकुमारी शाही निर्वाचित भइन् । उनले २६ सय २५ मत ल्याएकी थिइन् । कांग्रेसबाट देवराज आचार्यले २५ सय ४२ मत ल्याए ल्याएका थिए ।

पाँच वडामा २ वडामा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन् । वडा नम्बर ७ मा गठबन्धनका साझा उम्मेदवार राममोहन आचार्य १३ सय ८३ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिस्पधी एमालेका किशोर बरालले १२ सय ८४ मत ल्याए । त्यस्तै वडा नम्बर ३३ मा रामचन्द्र अधिकारी ३३ सय ८९ मत ल्याएर निर्वाचित भएका छन् ।

उनले एमाले उम्मेदवार शिवप्रसाद आचार्यलाई पराजित गरेका हुन् । एमालेका आचार्यले २६ सय ३३ मत ल्याएका थिए । एमालेले सबै वडामा उम्मेदवार उठाएको थियो । एमाले विरुद्ध पाँचदलिय गठबन्धन साझा उम्मेदवार थिए । पाँच वडाको कुल मत जोड्दा गठबन्धन भन्दा एमाले बलियो देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार