• बिहिबार, साउन १४ २०८३

चुनावमा दल र उमेदवारले गर्न पाउने खर्चबारे सर्वोच्चले माग्यो आयोगको निर्णय


बिहिबार, भाद्र २३ २०७९
760
Shares

सर्वोच्च अदालतले निर्वाचनमा राजनीतिक दल र उमेदवारले गर्न पाउने खर्चको सीमाका विषयमा निर्वाचन आयोगले गरेका निर्णय झिकाउने आदेश गरेको छ ।

मंसिर ४ गते हुने निर्वाचनमा राजनीतिक दल र उमेदवारले गर्न पाउने खर्चको सीमा तोक्न माग गर्दै परेको रिटमा बिहीबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निर्वाचन आयोगको निर्णय झिकाउँदै यही भदौ २७ गते अन्तरिम आदेशको छलफलका लागि बोलाएको छ ।

रेग्मीको इजलासले आयोगलाई राजनीतिक दल वा उमेदवारले निर्वाचनमा गर्न पाउने खर्चमा हद तोक्ने के कस्ता निर्णय भएका छन् सोको प्रमाणित प्रतिलिपिसमेत लिई छलफलका उपस्थित हुन आदेश गरेको छ । 

निर्वाचन आयोग ऐन २०७३ को दफा २४ ले आयोगले निर्वाचनको खर्च हद तोक्नेछ भन्ने बाध्यात्मक व्यवस्था गरे बमोजिम आयोगबाट आवश्यक कार्य नभएको भन्दै, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले मंगलबार निर्वाचन आयोगविरुद्ध परमादेश माग गर्दै रिट दर्ता गराएका थिए ।

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ताहरू ध्रुवलाल श्रेष्ठ, सुरेन्द्र भण्डारी तथा  अधिवक्ताहरू काशीप्रसाद घिमिरे, राजकुमार थापा, कीर्तिनाथ शर्मा पौडेल, रामबहादुर राउत, सन्तोष भण्डारी, देवबहादुर महत, नवराज पाण्डे, विरभद्र जोशी र विष्णुप्रसाद अर्यालले बहस गरेका थिए ।

रिटकर्ता पक्षको बहस सुनिसकेपछि रेग्मीको एकल इजलासले निर्वाचन आयोगलाई, निवेदकले उठाएको विषयमा के–कस्तो कार्य भएका छन् त्यसको प्रतिलिपिसहित उपस्थित हुन आदेश दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार