• बिहिबार, साउन १४ २०८३

राष्ट्रिय सभाका विषयगत समितिहरूमा सभापतिका लागि मनोनयन दर्ता


बुधबार, भाद्र २२ २०७९
1.6K
Shares

राष्ट्रिय सभाका चारवटा विषयगत समितिमा रिक्त रहेको सभापति पदको निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन्।

बुधवार सिंहदरबारस्थित राष्ट्रिय सभाको सचिवको निजी सचिवालयमा पुगेर उम्मेदवारहरूले सभापति पदका लागि आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन्।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रिय सभाका चारवटा विषयगत समिति सभापतिको निर्वाचनका लागि मनोनयन दर्ता भएको जानकारी दिए।

जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले मनोनयन दर्ता गराएका छन्। उनको प्रस्तावकमा महेशकुमार महरा र समर्थकमा जगप्रसाद शर्मा रहेका छन्।

त्यस्तै, अनिता देवकोटाको प्रस्ताव र देवेन्द्र दाहालको समर्थनमा विधायन व्यवस्थापन समिति सभापतिका लागि वेदुराम भुसालले मनोनयन दर्ता गरेका छन्।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्माको मनोनयन परेको छ। उनको प्रस्तावक मदनकुमारी शाह (गरिमा) रहेकी छन् भने समर्थकमा युवराज शर्मा रहेका छन्। 

त्यस्तैगरी राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीको मनोनयन दर्ता भएको छ। उनको प्रस्तावकमा गोपीबहादुर सार्की आछामी र समर्थकमा दुर्गा गुरुङ रहेका छन्। 

चारवटै विषयगत समितिको सभापतिहरुको निर्वाचन भदौ २३ गते बिहीवार दिउँसो १ बजे हुने राष्ट्रिय सभाका सचिव फुयाँलले जानकारी दिए।

सम्बन्धित समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको बैठकमा प्रस्तावकले प्रस्ताव पेस गरेसँगै प्रक्रिया अगाडि बढाएर सभापति निर्वाचित हुने उनले उल्लेख गरे।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै दिगो विकास तथा सुशासन समिति सभापतिका उम्मेदवार प्रकाश पन्थले सुशासन र दिगो विकासको सम्बन्धमा सरकारले गरेको कामको अनुगमन तथा निर्देशन दिन आफ्नो भूमिका हुने बताए। 

उनले भने, ‘सांसदहरुको काम विधि निर्माण गर्ने, ऐन, कानून बनाउने त भयो। त्यो सँगसँगै सरकारको कामहरुको निगरानी गर्ने, सुशासनदेखि दिगो विकासका कुराहरुमा सरकारको कामलाई अनुगमन गर्ने, निर्देशन दिने, सरकारको काम, कारबाहीमा निगरानी राख्ने हिसावले मैले यो विषयलाई रोजेर आफ्नो उम्मेदवारी दिएँ।’

त्यस्तै संक्षिप्त प्रतिक्रिया दिँदै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति पदका उम्मेदवार माया प्रसाद शर्माले सरकारले दिएको आश्वासन र प्रत्यायोजित भएका अधिकारहरू अनुरुपको काम भए÷नभएको हेरी निर्देशन दिन आफ्नो उम्मेदवारी भएको बताए।

उनले भने, ‘सरकारले गरेका आश्वासनहरु, प्रत्यायोजित अधिकारहरु, नियम, कानूनहरु, विधेयकहरु निर्माण गर्नका निमित्त छलफल, वहस गर्न र सरकारलाई निर्देशन दिने काम भएका कारणले त्यसैको लागि मैले उम्मेदवारी दिएको हुँ।’

त्यस्तैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पदकी उम्मेदवार दिलकुमारी रावल थापा पार्वतीले सरकारलाई समितिप्रति जवाफदेही बनाउन आफ्नो भूमिका हुने बताइन्। 

उनले भनिन्,‘सरकारलाई समितिप्रति जवाफदेही र उत्तरदायी बनाउने। समितिको निर्देशन कार्यान्वयनयोग्य, यथार्थपरक हुनुपर्छ। निर्देशन कार्यान्वयन गर्न सरकारलाई बाध्य बनाउनुपर्छ र त्यो औचित्यता समितिले पुष्टि गर्नुपर्छ। कार्यान्वयनका लागि निरन्तर अनुगमन गर्नुपर्नेछ ।’ 

उनले समितिले सरकारलाई दिने निर्देशनलाई यथार्थपरक र कार्यान्वयनयोग्य बनाउनका लागि पनि आफ्नो भूमिका हुने बताइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार