गण्डकी प्रदेश नेपाली कांग्रेस संसदिय दलको बैठक भिडियो मार्फत सम्पन्न भएकाे छ ।
शुक्रबार भएकाे संसदिय दलको भिडियाे कन्फ्रेन्सिङ बैठकले ५ बुदे निर्णय गरेकाे बताइएकाे छ । बैठकपछि दलले ५ बुदे बिज्ञप्ती जारी गरिएको ससंदिय दलका सदस्य मनकुमारी गुरुङले जानकारी दिइन ।
बैठकमा लकडाउनकाे असहज परिस्थितिमा सरकारलाई आवस्यक सहयाेग गर्ने समेत निर्णय भएकाे गुरुङले बताइन ।
हेर्नुस प्रेश विज्ञप्ती
१. कोरोना (CORONA) महामारीका कारण सम्पुर्ण राष्ट्र किंकर्तव्यविमुढताका साथ स्थिर छ । देशभरीका सरकारी, निजी, कार्यालयहरू, कलकारखाना, शैक्षिक संस्था, विकास निमार्ण मात्र हैन जनजिवन समेत ठप्प छ । अर्थतन्त्र र आर्थिक वृद्वि ऋणात्मकमा जान्छ भन्ने चिन्ता छ । यस सवका बाबजुद पनि सरकार, राजनितिक दलहरू र जनताको अहिले एक मात्र ध्येय, अर्जुन दृष्टि नागरिकको जिवन रक्षाको हुनु पदर्छ । तर कोरोना (CORONA) को त्रासले मुलुक लकडाउनमा रहेको बेला अत्यन्त अपारदर्शी ढङ्गले सरकारले “भुमिसमस्या सामाधान आयोग” गठन गरेको समचारले हामीलार्इ स्तब्ध बनाएको छ । नेपाली कांग्रेसले सुकुम्बाशीको र अव्यवस्थित बसोबासीहरूकोछ समस्या सम्बोधन गर्न आयोग बनाउ भनेर पटक पटक अनुरोध गर्दा पनि विगत दुर्इ बर्ष सम्म मौन रहेको सरकारले देश विपत र महामारीको चपेटमा परेको समय कार्यकर्ता भर्ती केन्द्र बनार्इ बहुमुल्य सरकारी, सार्वजनिक जमीन आफ्ना मानिसलार्इ दिने दुर्नियतका साथ यो निर्णय गरेको छ । श्रमजिवी जनतालार्इ भोकै राखेर, राष्ट्रसेवकको तलब कटाएर कोरोना (CORONA) रोकथामका लागि आर्थिक जोहो गरी रहेको सरकारले करिव सवा अरब खर्च गर्ने गरी आयोग बनाउनु संवेदनहिनता र गैर जिम्मेवारीको परकाष्टा हो । कोरोना (CORONA) र लकडाउनको कारणले उत्पन्न समस्या समाधानमा केन्द्रित नभर्इ सरकारबाट गरिएको यो कुकृत्य जति भर्त्सना गरे पनि कम हुन्छ ।
२. कोरोना (CORONA) विरूद्वको लडार्इमा हाललार्इ लकडाउन सर्वोत्तम विकल्प हो । तिन हप्ता लामो लकडाउनको अवधिमा थुप्रै श्रमिक र गरी खाने जनता देशका थुप्रै शहरमा थुनिएको स्थितिमा छन । यो अवधिमा तिनिहरूको लागि खाद्यन्न लगायत अत्यावश्यक वस्तुको व्यवस्था गर्न सरकार सम्पुर्ण रूपले चुकेको देखिन्छ । लकडाउन लम्विदै जाने स्थिती र भोकले अतालिएर मानिसहरू सा–साना बच्चाहरू सहित पैदल नै लामो यात्रा गरिरहेका दृष्य हृदय विदारक छन । लकडाउनका अवधिमा हुदाँ खाने विपन्न नागरिकको लागि बसेकै स्थानमा खाद्यन्न लगायात अत्यावश्यक वस्तुको व्यवस्था गर्न वा सुरक्षित तरिकाले गन्तब्यमा पुरयाउन जोडदार माग गर्दछौ ।
३. विज्ञहरूको अनुसार भारतमा सामुहिक संक्रमणको सम्भवना व्यापक छ । त्यसो भयो भने भारत तर्फबाट नेपालमा खाद्यन्न, औषधि लगायत अत्यावश्यक वस्तुहरूको ढुवानी ठप्प हुने खतरा छ । यस स्थितिलार्इ मध्यनजर गरी न्युनतम पनि छ महिनालार्इ पुग्ने खाद्यन्न, औषधि र अन्य अत्यावश्यक वस्तुहरूको भण्डारण शिघ्रातिशिघ्र गरियोस ।
४. रैपिड डायग्नोस्टिक टेष्ट (RDT) को गुरस्तरमा थुप्रै प्रश्न उठिरहेको छ र परिक्षण पनि आवश्यक मात्रामा हुन नसकि रहेको स्थितिलार्इ मध्यनजर गर्दै सरकारले यो समस्या को याथासिघ्र सम्बोधन गरोस ।
५. भारतिय सिमा तर्फ धेरै नेपाली नागरिकहरू खाना र उपयुक्त क्वारेन्टाइन विना अत्यन्त दयनिय अवश्थामा रहेको सन्दर्भमा तिनिहरूलार्इ यथासिघ्र देश भित्र ल्याएर आवश्यक समय क्वारेन्टाइनमा राखि कोरोना (CORONA) परिक्षण गर्ने प्रकिया अविलम्ब थालियोस ।
लकडाउनको कठिन समयामा अनुशासित पुर्वक सामाजिक दुरीको नियम पालन गर्ने जनता, विभिन्न प्रकारका सहयोग गर्ने दाताहरू, प्रथम मोर्चामा अविचलित रूपले खटी रहनु भएका स्वास्थकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत सम्पुर्ण प्रति सम्मान सहित हार्दिक धन्यवाद दिन चाहान्छौ ।
नेपाली कांग्रेस संसदीय दल
गण्डकी प्रदेश