• शुक्रबार, भाद्र २६ २०८३

राजनीतिमा आए अर्थशास्त्री स्वर्णिम वाग्ले, चितवन १ बाट चुनाव लड्न दिए निवेदन


बुधबार, भाद्र १५ २०७९
830
Shares

काठमाण्डाै । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले चितवन–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दाबी गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उमेदवारीका लागि अर्थशास्त्री डा.वाग्लेले आवेदन दिएका हुन् ।

यूएनडीपीको एशिया प्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहकार रहेका उनी सक्रिय राजनीति गर्न भन्दै केहि समयअघि नेपाल आएका हुन् ।

‘मैले आठ वर्षअघि विश्व बैंकको जागिर छोडेर राष्ट्रिय योजना आयोगको सदस्य भएपछि स्वदेशमै बसेर राजनीति गर्ने निर्णय लिएको हुँ,’ डा. वाग्लेले भने, ‘बीचको एक डेढ वर्ष मैले प्रधानमन्त्रीसहित कांग्रेस शीर्ष नेताको सल्लाहमा विशेष जिम्मेवारी सम्हाल्ने गरी न्युयोर्क गएको थिएँ ।’

साथै उनले अब नेपालमै बसेर देशका लागि केहि गर्ने याेजना र चाहाना बाेकेर स्वदेश फर्किएकाे बताएका छन् । उनले विगतमा आर्थिक र योजनाका क्षेत्रमा राजनीतिक नेतृत्वसँग जोडिएर काम गरे पनि अब भने पूरै राजनीतिमा जानेगरी उमेदवारीको आवदेन दिएको बताए ।

केहि समययता डा. वाग्लेलाई गोरखा १ बाट चुनाव लड्न सक्ने आँकलन समेत गरिएकाे थियाे । गोरखाका जनता मात्रै हाेइन पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले त वाग्ले चुनाव लडे आफुले सघाउने समेत उद्घाेष गरेका थिए ।

तर एक्कासी उनले चितवन १ बाट चुनाव लड्ने भन्दै उम्मेदवार बनाउन पार्टीलाई निवेदन दिएका छन् । उनि भन्छन् ‘गठबन्धनको समीकरण आदिका कारण चितवन आउने परिस्थिति बन्याे, यसलाई स्वभाविक रुपमै लिउँ ।’

प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न वाग्लेसँगै चितवन-१ मा कांग्रेसबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, त्रिविका पूर्वउपकुलपति तीर्थराज खनियाँ, नेता राजेन्द्रप्रसाद बुर्लाकोटी र भीमप्रसाद थपलियाले आवेदन दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार