• बिहिबार, साउन १४ २०८३

समानुपातिकमा ४२, प्रत्यक्षतर्फ ८७ दल


आइतबार, भाद्र १२ २०७९
670
Shares

निर्वाचन आयोगमा प्रतिनिधिसभा समानुपातिकतर्फ भाग लिन ४२ दलले निवेदन दिएका छन्। आयोगले समानुपातितर्फ दल दर्ताका लागि आइतबारसम्मको समयसीमा तोकेको छ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार समानुपातिकतर्फ उम्मेदवारी दिन आइतबारसम्मको समय निर्धारण गरिएको छ।

हालसम्म ४२ दलले उम्मेवादी दिएका छन्। प्रदेशतर्फ समानुपातिकमा प्रदेश १ मा ४२, मधेसमा ३५, बागमतीमा ३९, गण्डकीमा ३५, लुम्बिनी ३७, कर्णालीमा ३२ र सुदूरपश्चिम प्रदेशमा ३४ दलले उम्मेदवारी  दिएका छन्।

आयोगले प्रतिनिधिसभा निर्वाचनमा ७९ वटा दलका निर्वाचन चिह्नहरू मतपत्रमा राख्ने निर्णय गरेको छ। चुनावमा ८७ दलले भाग लिने भए पनि केही दलले एउटै चुनाव चिह्नमा चुनाव लड्ने भनेर आयोगमा निवेदन दिएका थिए।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षमा बसेको आयोगको बैठकले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा सहभागी हुने दलको संख्या र मतपत्रमा समावेश गरिने दलको चुनाव चिह्नबारे निर्णय गरेको हो। 

त्यसैगरी, प्रदेशसभातर्फ प्रदेश १ मा ६२ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७० कामय गरिएको छ। मधेसमा ६७ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७५ छ।  

त्यसैगरी, बागमतीमा ६४ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७२ छन्। गण्डकी प्रदेशमा ५८ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६६ रहेको आयोगका सह—प्रवक्ता अर्यालले बताए।

उनका अनुसार लुम्बिनी प्रदेशमा ६० वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६८, कर्णाली प्रदेशमा ५६ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६४ र सुदूरपश्चिम प्रदेशमा ५६ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६४ रहने गरी आयोगले निर्णय गरेको छ। 

३ दललाई चुनाव चिह्न प्रदान

निर्वाचन चिह्न माग गर्ने तीन दललाई आयोगले चुनाव चिह्न दिने निर्णय गरेको छ। राष्ट्रिय यथार्थवादी पार्टी नेपालले मोटरसाइकल, सामाजिक लोकतान्त्रिक पार्टीले ३ ढुंगे अघिनो र त्रिमूल नेपालले ओदान निर्वाचन चिह्न माग गरेको थियो।

माग गरेअनुसारकै चिह्न प्रदान गर्ने आयोगले निर्णग गरेको छ। आयोगले मतपत्रमा चुनाव चिह्नको क्रम पनि निर्धाण गरेको छ। यसअघि प्रतिनिधिसभा/प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलले २०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा चुनाव चिह्नको क्रम निर्धारण गरिने आयोगले जनाएको छ।

नयाँ दलको हकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनका लागि आयोगमा दल दर्ता भएको क्रमको आधारमा राजनीतिक दल एवं उम्मेदवारको निर्वाचन चिह्न मतपत्रमा समावेश गरिने आयोगले जनाएको छ।

निर्धारण गरिएका निर्वाचन चिह्न राजपत्रमा प्रकाशन गर्ने आयोगले निर्णय गरेको सह—प्रवक्ता अर्यालले बताए। निर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय संस्थालाई निवेदन पेस गर्न आयोगले आह्वान गरेको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार