????????????????????????????????????


गोरखा । आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा ५० प्रतिशत सिट नेकपा माओवादीलाई छाेड्न तयार रहेकाे नेपाली काँग्रेसले बताएकाे छ ।
‘जनताकाे साथमा नेपाली काँग्रेस’ अभियान सुरुवातका क्रममा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस गोरखाले आगामी निर्वाचनमा गठबन्धन दलमा रहेकामध्ये गोरखामा प्रमुख शक्ति काँग्रेस र माओवादी मात्रै रहेकाले सिट बाँडफाँड बराबर हुने बताएकाे हाे ।



‘गएकाे स्थानीय तह निर्वाचनकाे मत हेर्दा दुवै क्षेत्रमा बराबर जस्ताे मत काँग्रेस र माओवादीले प्राप्त गरेका छन्’ काँग्रेस जिल्ला सभापति नन्द प्रसाद न्याैपानेले भने ‘कुन क्षेत्र र कुन प्रदेश कसले पाउने भन्ने बिषय केन्द्रले निर्धारण गर्ने कुरा हाे तर आधा काँग्रेसले पाउनुपर्छ भन्नेमा हामी अडिक छाै ।’
गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा गोरखामा लज्जास्पद हार ब्यहाेरेकाे काँग्रेसले पराजयकाे कारणबारे समेत मुख खाेलेकाे छ ।



‘गएकाे चुनावमा काँग्रेसलाई अरु दलले हराएकाे हुदै हाेइन, हामीले आफ्नै पार्टीभित्रकाे असन्तुष्टी ब्यवस्थापन गर्न नसक्दाकाे परिणाम चुनावमा देखियाे’ सभापति न्याैपानेले पत्रकार सम्मेलनमा भने ‘जनमत हेर्दा हामी बलियाे छाै यसमा हाम्राे प्राविधिक हार भएकाे निश्चय नै हाे ।’
२०७४ मा ११ मध्ये दुवै नगरपालिकासहित ९ पालिका जितेकाे काँग्रेस हाल दुवै नगरपालिका गुमाउदै २ गाउँपालिकामा खुम्चिएकाे छ । तर ५ पालिकाकाे उपप्रमुखमा भने काँग्रेसले जित हासिल गरेकाे छ ।

त्यस्तै न्याैपानेले बाबुराम भट्टराईका लागि गोरखामा सिट छाेड्न नसकिने बताएका छन् । २०७४ सालमा काँग्रेसकै सहयाेगमा विजयी बनेका भट्टराईले मतकाे कदर गर्न नसकेकाे उनकाे आराेप छ । याे पटक काँग्रेसी मतदाता भट्टराईलाई मत दिने मुडमा नभएकाे समेत सभापति न्याैपानेकाे भनाई छ ।
पत्रकार सम्मेलनकै क्रममा उनले अबकाे एक हप्तामा नेपाली काँग्रेसले गोरखाबाट दुवै क्षेत्र र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फकाे उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउने जनाएकाे छ ।


