काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलका लागि दल दर्ता गर्न आव्हान गरेको छ । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फका लागि भदौ १० देखि १२ गतेसम्म निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।
राजनीतिक दललाई निवेदन दर्ता गर्न आह्वान गरिएको आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले जानकारी दिए । यसअघि निर्वाचन प्रयोजनका लागि ८७ वटा दल दर्ता भइसकेका छन् ।
समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ । उक्त निर्वाचन कार्यक्रम सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगमै राखिसकिएको छ ।
एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलले सबै दलको केन्द्रीय समितिको संयुक्त वा अलग-अलग रूपमा निवेदन दिन पाउने सहसचिव भट्टराईले जानकारी दिए ।
दलले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै निवेदन दिनुपर्नेछ । निर्वाचन कार्यतालिका बमोजिम समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूची आगामी असोज २ र ३ गते पेस गर्नुपर्नेछ ।