• बिहिबार, साउन १४ २०८३

बा गोरखा-२ बाट चुनाव लड्नुहुन्छ, म काठमाडौंमा: मानुषी


बुधबार, भाद्र ८ २०७९
855
Shares

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif

नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य मानुषी यमी भट्टराई काठमाडौं-७ बाट चुनाव लड्ने तयारी गर्दैछिन्।

बाबुराम भट्टराई र हिसिला यमीकी छोरी मानुषीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं-७ बाट उम्मेदवारी दिन लागेकी हुन्।

यो क्षेत्रमा पहिले मानुषीकी आमा हिसिलाले निर्वाचन जितेकी थिइन्। तर २०७४ को चुनावमा भने यो क्षेत्र नेकपा एमालेका रामवीर मानन्धरले १८ हजार एक सय २ मत ल्याएर जितेका थिए।

विद्यार्थी नेता हुँदै पार्टी राजनीतिमा आएकी मानुषीले पछिल्लो समय राजनीतिक भेटवार्तालाई सक्रियतापूर्वक अघि बढाएकी छन्। उनी नयाँ शक्ति पार्टीमा केन्द्रीय परिषद सदस्य थिइन्। जनता समाजवादी पार्टी छाडेर अहिले मानुषी नेपाल समाजवादी पार्टीमा क्रियाशील छन्। उनका बुवा बाबुराम उक्त पार्टीका अध्यक्ष छन्।

उनले काठमाडौं क्षेत्र नम्बर-७ लाई केन्द्रमा राखेर स्थानीयहरूसँग कुराकानी पनि जारी राखेकी छन् भने उक्त क्षेत्रमा उम्मेदवारी दिन सत्ता गठबन्धनसँग पनि कुराकानी चलिरहेको छ।

मानुषीले कुराकानी गर्दै यसपालिको चुनावमा आफू काठमाडौं-७ मा उठ्ने तयारीमा रहेको बताइन्।

‘मैले केही समय अघिदेखि नै काठमाडौं-७ मा चुनाव लड्ने तयारी गरेको हो,’ उनले भनिन्, ‘यस बीचमा हामी सत्ता गठबन्धनको हिस्सेदार पनि भयौं। स्थानीयहरूसँग भेटघाट पहिलेदेखि नै जारी राखेका छौं।’

नेकपा (माओवादी केन्द्र) ले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीलाई हँसिया हतौडा चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरिसकेको छ। मानुषीले पनि आफू हँसिया हतौडा चिन्हबाटै चुनाव लड्ने बताइन्।

‘काठमाडौं-७ म जन्मे-हुर्केको ठाउँ पनि हो, यहीबाट चुनाव लड्छु,’ उनले भनिन्, ‘युवाहरू पनि अब संसदमा पुग्नुपर्छ भनेर मैले आवाज उठाइरहेको छु।’

मानुषीले काठमाडौं- ७ का विभिन्न टोलका स्थानीय बासिन्दासँग भेटघाट गर्ने र सुझाव लिँदै आएकी छन्।

विभिन्न पार्टीबाट युवालाई टिकट दिने वातावरण बनाउन दबाब सिर्जना गर्नेलगायत काम गर्नुपर्ने पनि उनी बताउँछिन्।

‘युवाहरूलाई टिकट दिइएन र संसदमा जानबाट रोकियो भने पार्टीहरूको विकल्प खोज्ने माहौल सिर्जना भइरहेको छ, त्यसमा पार्टी र मुख्य रूपमा सत्ता गठबन्धनले मनन गर्नुपर्छ भन्ने हो,’ उनले भनिन्।

आफू आवद्ध पार्टी नेपाल समाजवादी अहिलेको सत्ता गठबन्धनकै अंग भएको उनले बताइन्।

‘यो गठबन्धनमा नहुँदै मैले चुनाव लड्ने तयारी गरिरहेकै हो,’ उनले भनिन्, ‘पछिल्लो घटनाक्रमले हामीलाई सत्ता गठबन्धनमै ल्यायो।’

राजनीतिमा नयाँ पुस्ता र युवालाई ठाउँ दिन र प्रेरित गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरू तयार हुनुपर्ने मानुषी बताउँछिन्।

‘नयाँ एजेन्डासहितका नयाँ अनुहारलाई राजनीतिमा प्रवेश गराउने कि नगराउने भन्ने कुरामा सत्ता गठबन्धनका शीर्ष नेताले ध्यान र ख्याल पुर्‍याउनुपर्छ,’ उनले भनिन्, ‘मैले उम्मेदवारी दिनेबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग ‘वान टु वान’ कुरा भइसकेको छैन। तर पार्टीभित्र विशेष गरी युवा साथीहरूसँग कुराकानी भइरहेको छ।’

उनका बुवा बाबुराम यसअघि २०७४ मा गोरखा-२ बाट विजयी भएका थिए। केहीले बाबुरामले गोरखा -२ मा छोरी मानुषीलाई छाड्ने चर्चासमेत गरेका छन्।

यसमा सत्यता नभएको मानुषी बताउँछिन्।

‘गोरखा -२ मा बा (बाबुराम भट्टराई) नै उठ्नुहुन्छ, म त्यहाँ उठ्ने होइन। काठमाडौं -७ मै उठ्छु,’ उनले भनिन्, ‘पहिले जसले जितेको छ त्यहाँ उही पार्टीले राख्ने खालका कुरा गठबन्धनमा भएका छन्। त्यसअनुसार गोरखा-२ मा उहाँ (बाबुराम) नै उठ्ने हो।’

२०७४ मा एमालेले जितेको काठमाडौं-७ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्ने कोसिस मानुषीले गरिरहेकी छन्। २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा यो क्षेत्रमा हिसिलाले जितेकी थिइन्।

युवालाई उम्मेदवार बनाउने र राजनीतिमा ठाउँ दिने कुरा आफ्नो पार्टीको मात्रै जिम्मेवारी नभई यो सिंगो गठबन्धनको पनि जिम्मेवारी हुन आउने उनी बताउँछिन्।

‘सबै पार्टीभित्र रहेका युवा साथीहरू अलि जुर्मुराउनु पर्‍यो। अलि पहलकदमी आफ्नो हातमा लिनुपर्‍यो भनेर कुराकानी भइरहेका छन्,’ उनले भनिन्।

काठमाडौं- ७ मा यस्तो छ स्थानीय चुनावको मत:

गत वैशाख ३० मा भएको स्थानीय चुनावमा काठमाडौं क्षेत्र नम्बर ७ मा नेपाली कांग्रेस अगाडि देखिन्छ।

यस क्षेत्रका वडाहरूको मत जोड्दा कांग्रेसले १४ हजार १ सय ६७ मत पाएको छ।

यहाँ नेकपा एमालेले १२ हजार २ सय २ मत ल्याएको छ।

साथै नेकपा एकीकृत समाजवादीले ३ हजार ८ सय ३९ मत ल्याएको छ भने राप्रपाले २ हजार २७ र माओवादी केन्द्रले ५ सय ७६ मत ल्याएको छ।

यो क्षेत्रमा काठमाडौं महानगरका वडा नम्बर १६, १७, १८ र २५ पर्छन् भने नागार्जुन नगरपालिकाको वडा नम्बर १, २ र ३ पनि यही क्षेत्रमा पर्छ। त्यस्तै तारकेश्वर नगरपालिकाको वडा नम्बर ३, ४ र ५ पनि यही क्षेत्रमा पर्छ।

साभार : सेताेपाटी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार