

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनपछि डा बाबुराम भट्टराईकाे पार्टीसंग एकताकाे सम्भावना रहेकाे बताएका छन् ।
आज नेपाल जेसिजकाे क्षेत्र ख सम्मेलन उद्घाटन गर्न गोरखा आएका अध्यक्ष प्रचण्डले चुनावपछि नेपाल समाजवादी पार्टीसंग एकता हुन सक्ने बताएका हुन् ।
‘याे निर्वाचनमा बाबुरामजीहरु हाम्रै चुनाव चिन्हबाट चुनाव लड्ने सहमती भएकाे छ’ उनले पत्रकारसंगकाे कुराकानीमा भने ‘निर्वाचनपछि पार्टी नै एकता गरेर अघि बढ्नुपर्छ भन्ने बारे छलफल भइरहेकाे छ ।’



बाबुराम गोरखा २ बाट चुनाव लड्दै हो ? पत्रकारकाे प्रश्नमा उनले भने, ‘को कहाँबाट उठ्ने भन्ने टुङ्गिएको छैन, जे भएपनि बाबुरामजी र हामी फेरी एकै ठाउँमा उभिने भयौँ, यो गोरखाको लागि विषेश महत्वको विषय हो।’

त्यस्तै उनले आसन्न निर्वाचनमा गठबन्धन बचाउने र चुनाव जित्नेगरी सिट बाँडफाँट हुने बताएका छन्। सत्ता गठबन्धनवीच बनेकाे सिट बाँडफाँड कार्यदलले काम गरिरहेकाे जानकारी दिदै प्रचण्डले हालसम्मकाे प्रगती सकरात्मक बताए ।



चुनाव जित्ने गरी उम्मेदवार र सिट बाँडफाँड गरिने समेत उनले दावी गरेका छन् । गत बैशाखमा सम्पन्न स्थानीय तहकाे निर्वाचनमा गठबन्धनकाे जग बलियाे बनेकाे बताउदै अध्यक्ष प्रचण्डले शान्तिपूर्ण रुपमा देशैभर एकैपटक भएकाे निर्वाचन र त्यसकाे परिणामले देश दुर्घटनाबाट बचेकाे जिकिर समेत गरे ।


गोरखा जेसिजकाे आतिथ्यतामा आजदेखि सुरु भएकाे क्षेत्र ख सम्मेलन उद्घाटन गर्न प्रचण्ड हेलिकप्टर मार्फत गोरखा आएका हुन् । त्यस्तै सम्मेलनमा भाग लिन क्षेत्र ख अन्तरगतका करिब ६ सय जेसिज प्रतिनिधी गोरखा आएका छन् । गोरखा संग्रहालय परिसरमा भएकाे सम्मेलन भाेली सकिने कार्यक्रमका उपनिर्देशक शरण श्रेष्ठले जानकारी दिए ।


