
तनहुँ। नेकपा (एमाले) का नेताहरुले गण्डकी प्रदेशमा आफ्नो सरकार बन्ने गरी आगामी चुनावमा बहुमत ल्याउने दावी गरेका छन् ।
केही स्थानीय तह र वडामा प्राविधिक कारणले जित निकाल्न नसकेकोमा प्रदेश सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनमा थप सुधार हुने नेताहरुको दावी छ ।


तनहुँको बन्दिपुरमा आइतबार र सोमबार आयोजित संगठनात्मक कार्यशालामा नेकपा (एमाले) का उपमहासचिव एवं गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेले संघ र प्रदेशमा बहुमतसहितको सरकार बनाउने दावी गरे ।

उनले देश अहिले एमालेमय भएकाले संघ र प्रदेश दुवैमा बहुमतका साथ सरकार बनाउने उनको भनाई छ । उनले कम्युनिष्टको भविश्य देख्न चाहनेहरु अहिले एमालेमा प्रवेशको लर्को चलेको र जनताले पनि विश्वास गरेको पार्टी नेकपा एमाले भएकाले जित सुनिश्चित भएको बताए ।
निष्ठा र प्रतिष्ठाको राजनीति गर्नेलाई जनताले सत्तामा पु¥याउने भन्दै कार्यनीति, सिद्धान्त र बैचारिक हिसावले अडिग भएर अघि बढ्न उहाँले कार्यकर्तालाई निर्देशन दिए । पार्टी केन्द्रीय संगठन विभाग प्रमुख एवं पूर्व ग्रहमन्त्री खगराज अधिकारीले ‘पार्टी संगठन र समाधानका सम्बन्धमा’ कार्यपत्र प्रस्तुत गर्दै पार्टी कमिटी केन्द्रदेखि टोलसम्म सक्रियताका साथ चुनावमा होमिनुपर्ने बताए ।


पार्टीका सवै संगठनले सांगठनिक गतिविधि देखाएर अघि बढ्न उहाँले निर्देशन दिए । उहाँले समावेशीताको सिद्धान्त एमालेले मात्रै बुझेको भन्दै दलाल–नोकरशाही–पुँजीवादको अन्त्य गरेर समाजवादको आधार निर्माण गर्नेकार्यमा सवैले एमालेलाई साथ दिन र गोलबद्ध हुन आह्वान गरेका थिए ।

पार्टी केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले ‘संगठनात्मक अवस्था, समस्या र समाधान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेकपा एमाले को जितको आधार नै संगठन भएको बताए ।
पार्टीको सवै जनसंगठनको सक्रियता र जनताको भरोसाबाट नेकपा एमाले आगामी चुनावमा पहिलो पार्टी बन्ने अवसरलाई सवैले सदुपयोग गर्न उनले आग्रह गरेका थिए ।

कार्यक्रममा पार्टीको जनसंगठन संयोजक भानुभक्त ढकालले जनसंगठन क्रियाशील भएमात्रै पार्टीले विजयी हासिल गर्ने भएकाले जनसंगठन सक्रिय ढंगले लाग्न आग्रह गरे । पार्टी संगठन सदस्य कर्ण थापाले एमालेमा नयाँ सदस्यता लिने र नवीकरण गर्ने क्रम बढेको भन्दै भदौ १५ गतेभित्र सवैले पार्टी सदस्यता नवीकरण गर्न आग्रह गरे ।

कार्यशालामा विभिन्न जिल्लाबाट सहभागि जिल्ला अध्यक्ष, सचिव र संगठन विभाग प्रमुखलगायत गरी ११ र जनसंगठनको एउटा गरी १२ समूह गरेर पार्टीले आगामी दिनमा गर्नुपर्ने कामबारे सुझाव संकलन गरिएको छ ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यशालामा उपाध्यक्ष मोहन रेग्मीले स्वागत भाषण गरेका थिए। कार्यक्रमको संचालन सचिव धनञ्जय दवाडीले गरेका थिए ।


