PM Deuba addressing a programme in Kathmandu, on Tuesday, October 17, 2017. Photo: RSS

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीहरुबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याउने उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले रक्षाबन्धन पर्वले सत्य, निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै दृढ सङ्कल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
रक्षाबन्धन विशेषगरी हिन्दू ब्राम्हण तथा क्षत्रिय पुरुषहरुले परम्पराअनुसार यज्ञोपवित अर्थात् जनै लगाएर मनाउने पर्व भए पनि नेपालमा धेरै धार्मिक समुदायले यसलाई श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ । त्यसैगरी नेवा: संस्कृतिमा गुंपुन्ही नामले चिनिने यस पर्वमा नेपालका तराई क्षेत्रमा दाजुभाइ र दिदीबहिनीहरुले एक आपसमा राखी बाँधी आपसी भाइचारा, प्रेम र सद्भाव अभिवृद्धिका लागि शुभकामना आदानप्रदान गर्ने प्रचलन पनि रहिआएको उनले उल्लेख गरेका छन्।
यसैगरी वर्ष दिनभित्रमा दिवङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवारी समुदाय रहेका विभिन्न ठाउँमा मनाउने गरिन्छ ।


