• बिहिबार, साउन १४ २०८३

निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न जसपा अध्यक्ष यादवको माग


मंगलबार, साउन २४ २०७९
665
Shares

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने माग अगाडि सारेका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै यादवले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने बताएका हुन् । 

मधेसमा जनसंख्या बढेको भन्दै यादवले सोहीअनुसार निर्वाचन क्षेत्रमा परिवर्तन गर्नुपर्ने बताएका हुन् । ‘जुनबेला संसदीय निर्वाचन क्षेत्र तय गरिएका थिए त्योबेला ४६ प्रतिशत जनसंख्या थियो मधेसमा । आज ५३ प्रतिशत पुगेको छ जनसंख्या । यो ५३ प्रतिशत जनसंख्याका आधारमा निर्वाचन क्षेत्रहरूको पुनर्निर्धारण हुनुपर्छ,’ उनले भने ।

यादवले संविधानमा समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था पनि अपूरो भएको बताएका छन् । उनले सही किसिमले पछि पारिएको वर्ग र क्षेत्रलाई राज्यका निकायमा प्रतिनिधित्व हुनेगरी समानुपातिक र समावेशिताको विषय राख्नुपर्ने बताए ।

संघीयता कार्यान्वयन अल्झिएको पनि सत्तारुढ गठबन्धनमा रहेको जसपाका अध्यक्ष यादवको भनाइ थियो ।

‘संघीयता कार्यान्वयनको विषय अझै पनि अल्झिएको छ । संघीयता निजामती ऐनको अभावमा प्रदेशहरूले कार्य गर्न सकिराखेको छैन,’ उनले भने । प्रदेशहरू प्रहरी र निजामती कर्मचारीको अभावमा रहेको उनको भनाइ थियो । त्यसका लागि संघले संविधानमा व्यवस्था भएअनुसार कानुन तर्जुमा गर्नुपर्ने उनको माग थियो ।

प्रदेशहरू कानुन, अधिकारको अभावमा प्रहरी प्रशासन र कर्मचारीको अभावमा कार्यमा जुन क्षमता देखाउनुपर्ने थियो त्यो देखाउन नसकेको तर प्रदेशहरूमाथि दोष लागिराखेको भन्दै यादवले सरकारको ध्यानाकर्षण गरेका छन् ।

यादवले नागरिकता विधेयक ल्याएर नागरिकताविहीनताको समस्या समाधान गर्न पनि आग्रह गरे । ‘नेपाली नागरिकका सन्तान राष्ट्रविहीनताको अवस्थामा रहेका छन् । राष्ट्रले गल्ती गर्ने र नागरिकता नदिने भएकाले समस्या छ । तत्काल नागरिकता ऐन पारित गरेर नागरिकता यथाशीघ्र प्रदान गर्ने व्यवस्था गर्नुपर्छ । संघीयतालाई कार्यान्वयन गर्ने निजामती ऐन ल्याउनुपर्छ,’ उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार