
सातै प्रदेशमा होटल व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्न काठमाडौं विश्व विद्यालय र नाथमबीच सम्झौता भएको छ।

काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच सम्झौता भएको हो। नेपालमा दक्षजनशक्ति कम भएको गुनासोलाई सम्बोधन गर्ने बताइएको छ।
सम्झौता कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालमा आएका पर्यटकका लागि पर्यटकको देशअनुसारकै खाना बनाउनुपर्छ भन्ने मान्यताको अत्य गर्नुपर्ने बताए।
उनले नेपाली खानामा पनि धेरै विविधता, मौलिकता र पौष्टिकता रहेकाले पर्यटकहरुलाई नेपाली खाना खुवाउने सोच राख्नुपर्ने बताए।


‘नेपाली मौलिक तथा परम्परागत खाना विश्वका अन्य मुलुकको भन्दा कमी छैन। नेपालको मौलिकतालाई पहिचान दिने गरी होटल व्यवस्थापनको क्षेत्रलाई विकास गरी नेपालको छुट्टै पहिचान बनाउन सकिन्छ’, श्रेष्ठले भने, ‘अहिलेसम्म नेपाललाई सगरमाथा, गौतम बुद्ध जन्मभूमिको रुपमा प्रचार गरिएको भन्दै अब हस्पिटालिटी क्षेत्रको पनि प्रचार गर्न आवश्यक रहेको बताए।’
उनले नेपालको पर्यटन व्यवसायको मान्यता कोरियन पर्यटक आउँदा कोरियन खाना, जापानीहरु आउँदा जापानी खाना तयार गरेर बस्नुपर्ने खालको रहेको बताउँदै अब कोरियन आउँदा नेपाली खाना बनाएर खुवाऊँ भन्ने सोचबाट जान सक्नुपर्ने बताए।


‘नेपाली खानामा पनि धेरै विविधता, मौलिकता र पौष्टिकता समेत छ। यस्ता कुराहरुलाई अनुसन्धान गरेर त्यस्ता कुराहरु ल्याउने हो भने कुनै पनि देशमा पौष्टिक आहार हाइजिनिक भन्नेभन्दा कुनै मानेमा पनि कमी छैन’, मन्त्री श्रेष्ठले भने, ‘हाम्रा तिथि र पर्वअनुसार खानाका परिकारहरु छन्। यस्तो कुराहरुमा पनि हामीले अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिन्छ।’

मन्त्री श्रेष्ठले नेपालमा अत्यधिक रुपमा पर्यटकको संख्या वृद्धि भए अहिलेको जनशक्तिले नधान्ने भन्दै यसमा वृद्धि गर्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्ने बताए।
त्यस्तै कार्यक्रममा काठमाडौं विश्व विद्यालयका उपकुलपति डा.भोला थापाले नेपालले स्विस, अष्ट्रियन हस्पिटालिटीभन्दा पनि नेपाली हस्पिटालिटी खोजेको बताए। उनले नेपालले पूर्वीय आतिथ्यलाई विश्वासमा पुर्याउन सक्नुपर्ने आवश्यकता रहेको बताए।
डा.थापाले सरकार सानासाना कार्यक्रममा अल्झेर बस्नुभन्दा पनि ठूला अनुसन्धानका कार्यक्रम अगाडि बढाउनु पर्ने सुझाव दिए।


‘हामी स्विस हस्पिटालिटी बनाउँछौँ भनेका छौँ। अष्ट्रियन हस्पिटालिटी भन्ने कुरा आए। हामीले त्यो खोजेको छैन। नेपाली हस्पिटालिटी, अथवा पूर्वीय आतिथ्यलाई संसारमा पुर्याउनुपर्यो। अबको हाम्रो लक्ष्य भनेको त्यो हो’, थापाले भने, ‘अहिले हामीले आवश्यकता पूरा गर्न स्नातक प्रोग्राममा कार्यक्रम सञ्चालन गर्दै छौँ। हामी साना योजनामा अल्झेर बस्ने होइन अनुसन्धानको स्नातकोत्तर प्रोग्राममा अगाडि बढ्यौँ।’
उनले नेपालभर भएका सबै हस्पिटालिटीलाई नियमन गरी त्यस्ता कलेजहरुलाई जनशक्ति दिनुपर्छ।
दक्ष जनशक्ति उत्पादन गरेर विश्वका अन्य मुलुकहरुमा जागिर खान पठाउने विषयलाई परिवर्तन गर्नुपर्ने बताए। त्यसरी विश्वमा नै होटल व्यवस्थापनको क्षेत्रमा नेतृत्व लिनुपर्ने बताए।


