
काठमाण्डौ। सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै चेक बाउन्स सरकारवादी मुद्दा हुने जनाएको छ। योसँगै, अब चेक बाउन्स भएमा वा त्यस्ता उजूरी परेमा अब प्रहरीले पक्राउ गर्न सक्ने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरू आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्णइजलासले पुरानो फैसलामा परिवर्तन गरेका हुन्।
तीन वर्ष अगाडि सर्वोच्च अदालतका न्यायाधीशद्वय डम्बरबहादुर शाही र कुमार रेग्मीले चेक बाउन्स सरकारवादी मुद्दा नहुने फैसला गरेको थियो । तर, अहिले सर्वोच्च अदालतले पुरानो फैसलालाई उल्टाएर खातामा प्रयाप्त रकम नभएपनि चेक दिएमा बैंकिङ कसुरको मुद्दा लाग्ने उल्लेख गरेको छ ।
सर्वोच्चले पुरानो फैसला त्रुटिपूर्ण रहेको भन्दै खातामा पैसा नभएमा चेक दिएमा सरकारवादी मुद्दा हुने उल्लेख गरेको छ । फैसलाको पूर्णपाठ भने आउन बाँकी रहेको छ ।


