
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु भएको छ ।
आयोगका अनुसार साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सूचित गरेको हो ।

आयोगमा साउन १९ गतेसम्म निर्वाचन आयोगमा दर्ता भईसकेका दलहरुलाई मात्रै निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिने जनाइएको छ।
दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ।
दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधि सभा सदस्यका लागि छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने पनि आयोगले जनाएको छ।