पाेखरा । गण्डकी प्रदेश सरकारबाट बढाइएको कर वृद्धि तत्काल खारेज गर्नका लागि नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले माग गरेको छ ।
पार्टीको प्रदेश कार्य सम्पादन समितिको शनिबारको बैठकले जनतालाई नै सास्ती दिने गरी भएको निर्णयलाई तुरुन्त बदर गरी गत वर्षको करलाई यथावत् गर्नका लागि सरकारको ध्यानाकर्षण गराइएको बैठक पछि पार्टी प्रवक्ता माधवप्रसाद बाँस्तोला (मधु)बाट जारी विज्ञप्तिमा उल्लेख छ ।
गण्डकी प्रदेश सरकारमा आफ्ना प्रतिनिधिलाई जनताको भावनाअनुरुप काम गर्नका लागि पठाइए पनि केही व्यक्तिवादी सोचका कारण जनभावना विपरीतका निर्णय गरिएको भन्दै तत्काल संशोधन गरी कर वृद्धिलाई रोक्न अनुरोध गरिएको छ ।
गण्डकी सरकारको आव २०७९/८० को बजेटमा यातायात तथा भूमिसम्बन्धी कर, अघिल्लो वर्षको तुलनामा अनपेक्षित रुपमा बढेको भनी आम नागरिकबाट आएको गुनासोप्रति कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएको र प्रजातन्त्रको सुन्दर पक्ष जनभावनाको सम्मान गर्ने भएकाले कर वृद्धिसम्बन्धी के भएको हो स्पष्ट पार्दै आम नागरिकको चाहनाअनुरुप कर वृद्धि भएको भए सोलाई फिर्ता गरी यथावत् राख्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरियो’, विज्ञप्तिमा उल्लेख छ ।