• शुक्रबार, साउन १५ २०८३

राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता खतरामा पर्दै गयो –एमाले उपाध्यक्ष शाक्य


सोमबार, साउन १६ २०७९
645
Shares

गोरखा । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गठवन्धनका कारण राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता खतरामा परेको बताएकी छिन् ।

नेकपा एमाले जिल्ला कमिटि गोरखाले आइतवार जिल्ला सदरमुकाममा गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भनिन् ‘छिमेकी देश चीन शक्तिशाली हुँदै गएकोमा अमेरिकालाई टाउको दुखेको बेला एमसिसिका नाममा अमेरिकालाई चीन विरुद्ध खेल्न आमन्त्रण गरिएको छ ।’

प्रशिक्षण कार्यक्रममा वर्तमान राजनीतिक शक्ति सन्तुलन र पार्टीको भूमीका अभिवृद्धि विषयमा बोल्दै शाक्यले देशको आन्तरिक राष्ट्रियतामाथि पनि गठवन्धन सरकारले खेलवाड गरेको बताइन् ।

‘केपी ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक सहितका भूभाग समेटेर चुच्चे नक्सा सार्वजनिक ग¥यो, जमिन फिर्ता लिने प्रक्रिया चलिरहेकै थियो’ उनले प्रश्न गरिन, ‘तर अहिले प्रधानमन्त्री कार्यालयले प्रकाशन गरेको पुस्तकमा पुरानै नक्सा छ, यो के हो ?’

उपाध्यक्ष शाक्यले गठवन्धन सरकारलाई कुनै पनि हालतमा हटाउनु पर्ने भन्दै उनीहरुका खराब पक्ष पर्दाफास हुँदै गएमा ढिलो चाँडो गठवन्धन आफैं भत्किने ठोकुवा गरिन ।

प्रशिक्षण कार्यक्रममा नेकपा एमालेकी सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले जनताको बहुदलीय जनवादका मान्यताको आधारमा पार्टी निर्माण र परिचालन, पोलिटब्युरो सदस्य एवम् साँसद मनकुमारी केसीले स्थानीय तह निर्वाचनको सिकाई र आगामी निर्वाचनको तयारी, केन्द्रिय सदस्य रामशरण वस्नेतले संगठनात्मक सिद्धान्त, संगठन निर्माण र परिचालन एवम् गण्डकी प्रदेश कमिटि उपसचिव रश्मी अचार्यले जनप्रतिनिधि र पार्टी विचको सम्वन्धका विषयमा प्रशिक्षण दिएका थिए ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

नेकपा एमालेबाट गोरखाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई पार्टीको जिल्ला कमिटिले सम्मान गरेको छ । जिल्ला कमिटिले आइतवार आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।

गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा गोरखामा एमालेबाट ५१ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमा १० जना वडाध्यक्ष र अन्य ४१ जना वडा सदस्य रहेको जिल्ला सचिव काजीराम रोकाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार