• शुक्रबार, साउन १५ २०८३

नेपाली नागरिकता रद्दिको टोकरीमा फ्याँक्ने कुरा होइनः महासचिव पोखरेल


मंगलबार, साउन १० २०७९
745
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गलत व्यवस्था सहितको नागरिकता विधेयक पारित गरेर सरकारले सही काम नगरेको बताएकाछन्।

नेपाली नागरिकता रद्दीको टोकरीमा फ्याँक्ने बस्तु होइन भन्दै उनले विवाह गरेर आएकै दिन नेपाली नागरिकता दिने कुरा गलत भएको बताए।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बोल्दै महासचिव पोखरेलले भारतीय नागरिकसँग विवाह गरेर जाँदा नेपाली चेलीले भारतको नागरिकता प्राप्त गर्न सात बर्ष पर्खिनु पर्ने तर नेपाल आउने भारतीय महिलले त्यहि दिन नागरिकता प्राप्त गर्ने कुरा गलत भएको बताए ।

यो असमानता भएको पनि उनको भनाई थियो । महासचिव पोखरेलले प्रधानमन्त्री पदका लागि दिल्ली धाउन थाल्नेहरुले राष्ट्रिय स्वाभिमान गिराएको पनि धारणा राखेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हालैको दिल्ली भ्रमण प्रति लक्षित गर्दै महासचिव पोखरेले यस्तो बताएका हुन्।

प्रतिगमन भयो भनेर सडकमा हल्ला गर्दै हिंड्नेहरु नै अहिले प्रतिगमनको बाटो हिंडिरहेको पोखरेलका आरोप थियो ।

केपी ओली नेतृत्वको सरकार हुँदा मुलुकमा शोधनान्तर स्थिति राम्रो अवस्थामा रहेको, विदेशी मुद्राको सञ्चिति ११ महिनाको बस्तु आयात धान्न सक्ने अवस्थामा रहेको भन्दै उनले अहिले शोधनान्तर स्थिति कमजोर भएको, बस्तु आयात गर्न विदेशी मुद्राको सञ्चिति केवल ६ महिनालाई मात्र पुग्ने अवस्थामा झरेको भन्दै अर्थव्यवस्थालाई कमजोर बनाइएका बताए ।

वर्तमान गठवन्धनले सरकारको नेतृत्व गरेपछि मुलुकको आर्थिक अवस्था कोभिडकालमा भन्दा कमजोर भएका पोखरेलकोे विश्लेषण थियो । केशरजंग रायमाझी गद्दार हुन् भन्ने विषयमा सवैको एकमत रहेको स्मरण गर्दै नेपाली काँग्रेससँग संघर्ष गर्नुपर्नेहरु नेपाली काँग्रेससँग नै मिल्न जाँदा त्यो गद्दारी हो वा होइन भनेर पनि उनले प्रश्न गरका थिए ।

जसका विरुद्द लड्न भनेर जनमत प्राप्त गर्यो, त्यसैको सेवामा जुट्न गएकाहरुले जनमतको अपमान गरेको पोखरेलको भनाई थियो । नेपाली काँग्रेसलाई मकै बारीमा उम्रिएको झारसँग तुलना गर्दै महासचिव पोखरेलले त्यस्तो झार उम्रिन कुनै मेहनत आवश्यक नरहेको धारणा राखेका थिए।

त्यस्तो झारले मकैलाई हानी पुर्याउने भएका कारण गोडमेल गरेर फ्याँक्ने गरिएको भन्दै राजनीतिको त्यस्ता झारहरुलाई पनि आगामी निर्वाचन मार्फत फ्याक्नु पर्ने उनको भनाई थियो ।

नेपालमा नेकपा एमालेको सरकारले सुरु गरेको सामाजिक सुरक्षाको अवधारणा विस्तार हुँदै गएकोमा अहिले त्यसलाई संकुचित बनाउन खोजिएकाले त्यसका विरुद्दमा जनताको विचमा पुगेर जानकारी गराउन पनि महासचिव पोखरेलले आग्रह समेत गरेका थिए ।

मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सुरु गरिएको ज्येष्ठ नागरिकका लागि भत्ताको व्यवस्था अहिले वृद्दि हुँदै चार हजार पुगेको छ । नेकपाकै नेतृत्वको सरकारले अगाडी बढाएको स्वास्थ्य बीमा कार्यक्रमलाई वर्तमान सरकारले असफल बनाउन खोजिरहेको छ । यसैगरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रति पनि वर्तमान सरकारको खासै चासो देखिएको छैन ।

त्यसका विरुद्दमा नेकपा एमाले उभिने उनको भनाई थियो । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन पनि क्रान्ति नै भएकोले आगामी निर्वाचनलाई चुनौतिका रुपमा लिएर त्यसमा सफल हुनेगरी अगाडी बढ्न नेकपा एमालेका नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आव्हान समत गरेका थिए।

नेपालको राजनीति सही बाटोमा नरहेको भन्दै महासचिव पोखरेलले तीनवटा ठूला राजनीतिक परिवर्तन पछि पनि अवस्था नेकपा एमालेले चाहेजसरी सही ठाउँमा आइनपुगेको धारणा राख्नुभयो । नेकपालाई बलियो पार्टी बनाउन खोजिएपनि त्यो केवल मोर्चा जस्तो मात्र बनेको र मोर्चाले विश्वका कुनै पनि देशमा परिवर्तन नभएको विचार राखेका थिए ।

बन्द सत्रमा जिफण्ट अध्यक्ष बिनोद श्रेष्ठले आगामी चारबर्षको लागि नीतिगत प्रस्ताव, उपाध्यक्ष रमेश बडालले विधान संशोधनको प्रस्ताव, उपाध्यक्ष विदुर कार्कीले आगामी कामको प्रस्ताव तथा महासचिव जनक चौधरीले चारवर्षको साँगठनिक प्रस्ताव टेवुल गरेका छन् । महाधिवेशनमा देशभरीबाट जिफन्टका झण्डै ५ सय प्रतिनिधि सहभागि छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार