
राष्ट्रिय प्रजातन्त्र पार्टीले स्पष्टिकरण सोधेपछि पार्टी छाडेका ४ जना नेताहरु कमल थापा नेतृत्वको राप्रपा नेपाल प्रवेश गरेका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग असन्तुष्टि जनाएका ४ नेतालाई राप्रपाले २४ घन्टे स्पष्टिकरण सोधेको थियो। उनीहरुले स्पष्टीकरण नदिई पार्टी परित्यागको घोषणा गरेका थिए।
बिहीबार दिउँसो राजधानीको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले प्रवेश गराएका हुन्।


राप्रपा नेतृत्वप्रति असन्तुष्ट हुँदै नेताहरु दीलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमिल्सिना र राजाराम श्रेष्ठले पार्टी छाडेका थिए। त्यसैगरी राप्रपाका तत्कालीन खेलकुद विभाग प्रमुख दमन बस्नेत पनि कमल थापाको पार्टीमा प्रवेश गरेकाछन्।
त्यसअघि राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले उनीहरुलाई पार्टी हितविरुद्ध लागेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको थियो।
त्यसपछि उनीहरूले ‘पार्टीमा आन्तरिक प्रजातन्त्रको चीरहरण भएको अवस्थामा सर्वसत्तावाद र अहंकार मौलाएको’ आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए।
गत मंसिरमा भएको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग हारेपछि थापाले राप्रपाबाट राजीनामा दिएर नयाँ दल गठन गरेका थिए।
थापाले गठन गरेको दलमा प्रवेश गर्दै नेताहरुले महाधिवेशनपछि पार्टीबाट निक्लन बाध्य बनाइएको बताएका छन्। लिङ्देन निरकुंश शैलीमा आएको आरोप उनीहरुले लगाएका छन्।


