
करका दर हेरफेर गरेको र सीसीटीभी फुटेज मेटाएको विषयमा छानबिन गर्न बनेको संसदीय छानविन विशेष समितिको म्याद थप हुने भएको छ।
२२ असारमा गठन गरिएको समितिले पाएको १० दिनको म्याद बिहीबार ( ५ साउन) देखि सकिँदैछ। तर, कतिपय विषयहरु अध्ययन गर्नुपर्ने भएकाले समितिको म्याद थप गर्ने तयारी भइरहेको हो।
समितिले बुधबार (४ साउन) मा पूर्वअर्थसचिव शिशिरकुमार ढुंगानासँग बयान लिएको छ। सबै पूर्वअर्थसचिवहरुसँग बयान लिने प्रयास भए पनि अरु कोही उपस्थित नभएको अर्का सदस्यले बताए।


‘आज पूर्वअर्थसचिव शिशिरकुमार ढुंगानासँग बयान लियौं, शर्माबारे समाचार लेख्ने यस्तै दुईजना पत्रकारसँग पनि समितिले बयान लिएको छ,’ ती सदस्यले भने, ‘बोलाएका पूर्वअर्थसचिव अरु कोही पनि आएनन्।’
ढुंगानाले विगतदेखिको बजेट निर्माणको अभ्यासबारेमा बताएका थिए। समितिले बिहीबार (५ साउन) विहान जनार्दन शर्मासँग बयान लिने भएको छ।
बिहीबार नै डिलिट भएको भनिएको सीसीटीभी फुटेज नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको समितिलाई जानकारी गराइएको छ।
फरेन्सिक ल्याबबाट रिपोर्ट आउन तीन दिन लाग्ने बताइएको छ। समितिले एकजनासँग कम्तीमा पनि २ घण्टा बयान लिएको छ।
‘एकजनालाई सोध्दा र जवाफ आउँदा दुई घण्टा लाग्ने रहेछ,’ अर्का सदस्यले भने।
समितिले अहिलेसम्म जनार्दन शर्माले गलत गरेको कुनै प्रमाण पार्न नसकेको जनाएको छ। समितिका सदस्य सचिव तथा अर्थसमितिका सचिव सुरेन्द्र अर्यालले अहिलेसम्म प्रष्ट कुरा आउन नसकेको बताए।
‘भोलि (५ असार) विहान साढे ८ मा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्छौँ,’ अर्यालले भने, अरु समितिले प्रतिवेदन बनाउने काम पनि गरिरहेको छ।’


