• शुक्रबार, साउन १५ २०८३

राप्रपाको महिला संगठनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र


शुक्रबार, असार ३१ २०७९
745
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठनले गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापनपत्र बुझाएको छ।

महिला संगठनले महिला हकहित र अधिकार लगायतका विभिन्न माग राखेर ज्ञापन पत्र बुझाएको हो।

महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले शुक्रबार गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै महिला हिंसा र सुरक्षासँग सम्बन्धित विभिन्न विषय उठान गरिएको छ।

गृहमन्त्रीसमक्ष संगठनले १३ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो। १३ बुँदे ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले नागरिकको जीउ धनको रक्षा र सुरक्षा सरकारको पहिलो दायित्व भएको बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी १३ असारदेखि चरणबद्ध आन्दोलनमा उत्रिएको छ। यस क्रममा महिला संगठन पनि आन्दोलित भएका छन्।

गत असार १ गते विभिन्न २२ बुँदे माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपाले दबाब बढार्न निरन्तर आन्दोलनमा होमिएको जनाएको छ।

राप्रपाले किसानलाई रासायनिक मलको सहज आपूर्ति गरिनुपर्ने, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि नियन्त्रण हुनुपर्ने, दैनिक उपभोग्य खाद्यवस्तुको अनियन्त्रित महँगीको अनुगमन र नियन्त्रण हुनुपर्ने, कालोबजारी नियन्त्रण हुनुपर्ने, महारोगको रुपमा फैलिएको भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, ०४७ पछिका उच्चपदस्थको सम्पत्ति छानबिन हुनुपर्ने, बेरोजगारी समस्या समाधान गरिनुपर्ने, रोजगार सिर्जनाका लागि अल्पकालीन र दीर्घकालीन रणनीति बनाउनुपर्ने लगायत जनजीविकासँग सम्बन्धित विविध माग राखेको छ।

यसका साथै राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना, संघीयता खारेज, राष्ट्रप्रमुखका रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनमै मतदान गर्न पाउनुपर्ने व्यवस्था, प्रदेश र संघको निर्वाचनलाई निष्पक्ष बनाउन निष्पक्ष चुनावी सरकारको गठनलगायत २२ बुँदे माग राख्दै राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्रमा बुझाएको थियो।

राप्रपाले पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेर देशव्यापी आन्दोलन गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार