• शुक्रबार, साउन १५ २०८३

यस्तो छ उपसभामुखको निर्वाचन कार्यतालिका


बुधबार, असार २९ २०७९
715
Shares

लामो समयदेखि खाली रहेको प्रतिनिधिसभाको उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि निर्वाचन मिति घोषणासँगै कार्यतालिका सार्वजनिक गरेका छन्। ​

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी संसद बैठकमा उनले असार ३१ गतेका लागि निर्वाचन मिति घोषणा गरेका हुन्।सभामुख सापकोटाले प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई उपसभामुखको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना आजै प्रकाशन गर्न पनि निर्देशन दिए ।

त्यही निर्देशनअनुसार संसद सचिवालयले उपसभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। यो कार्यक्रम अनुसार उपसभामुखको निर्वाचन प्रक्रिया बिहीबार बिहान ११ बजेदेखि सुरु हुनेछ । उपसभामुख पदका लागि आगामी शुक्रबार दिउँसो ३ बजे  निर्वाचन हुने विवरण पनि संसद सचिवालयले सार्वजनिक गरेक छ।

तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधि सभामा अढाई वर्षदेखि उपसभामुख पद खाली छ। तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए।

संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न  नपाइने भएपछि तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्। केपी शर्मा ओली प्रधानमन्त्री रहुञ्जेल उनले डेढ वर्षसम्म उपसभामुख चयनतर्फ चासो दिएनन्।

शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म उपसभामुख पद खाली छ। एउटै दलबाट बनाउन नपाइने भएपछि अब बन्ने उपसभामुख माओवादीबाहेकका दलबाट चुनिने छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार