काठमाडौं । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट नियुक्त भएका मन्त्रीहरुले सपथ ग्रहण गरेका हुन्। नवनियुक्त मन्त्रीहरूमा मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादव रहेका छन्।
सिंहलाई कृषि तथा पशुपन्छी विकास, राईलाई भौतिक पूर्वाधार तथा यातायात र यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई फिर्ता बोलाउने र नयाँ मन्त्रीको नाम बुझाएका थिए।
जसपाले कृषि मन्त्री रहेका महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएको हो। उनीहरुसँगै नियुक्त भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने यथावत राखिएको छ।