काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३० कात्तिकको मिति प्रस्ताव गर्ने निष्कर्षमा पुगेको छ ।
कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भएको आयोगले जनाएकाे छ ।
आयोगले केही दिनअघि सुरक्षा निकायका प्रमुखहरुसँग पछि निर्वाचनबारे छलफल गरेको थियो । छलफलपछि एकै चरणमा निर्वाचन गर्न सकिने मनस्थिति बनेको ती पदाधिकारीले बताए ।
३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सुरक्षाकर्मीको संख्या कम हुँदा कतिपय ठाँउमा निर्वाचन विथोलिएको आयोगले आन्तरिक निष्कर्ष निकालेको थियो । तर दुई चरणमा निर्वाचन गर्दा बढी खर्च हुने भएकाले आयोगले एकै चरणमा जोड दिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको १२० दिन (चार महिना) अघि मिति घोषणा हुनुपर्ने बताए । उनका अनुसार, स्थानीय तहको निर्वाचनमा केही समय अभाव भएकाले दवाव परेको थियो ।
केही दिन अघिमात्रै निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचनको मिति घोषणााका वारेमा अनौपचारिक छलफल गरेका थिए ।