
गोरखा । चुमनुब्री गाउँपालिकाद्धारा आगामी आर्थिक बर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । पालिका अध्यक्ष निमा लामाले गाउँसभा मार्फत आगामी बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

जनताको भावना अनुसार आवस्यकताका आधारमा ‘दिगो बिकास अनुपम संस्कृति, उन्नत पर्यटन समृद्ध चुमनुब्री’ को सोचलाई पूरा गर्न गाउँपालिकाले गुणस्तरीय शिक्षामा जोड दिएकाे अध्यक्ष निमा लामाले बताए ।
गुणस्तरीय शिक्षा, बातावरण मैत्री सांस्कृतिक संरक्षण, गुणस्तरीय शिक्षा लगायत नागरिक मैत्री सेवाका लागि ‘जनता सँग अध्यक्ष कार्यक्रम संचालन गर्ने, गाउँपालिका र फिलिम बजार जोड्ने मोटरेबल पुन निर्माण गर्ने, श्याग्यार अहिंसा ऐतिहासिक सताब्दी महोत्सव संचालन गर्ने, आफ्नै प्रशासनिक भवन निर्माण गर्ने नीति कार्यक्रममा उल्लेख छ ।



पालिकामा शिक्षा समिति गठन गरिने, ब्यवशायीक शिक्षा दिने, ब्यवशायीक रुपमा भेडा पालन गर्दै आएका किसानलाई उन्नत जातको भेडा पालनका लागि सहयोग गर्ने, अब्यवस्थित बसोबास र सुकुम्बासी समस्याको समाधान गर्न पहल गर्ने नीति चुमनुब्री गाउँपालिकाले लिएको छ ।

पर्यटनतर्फ गणेश हिमाल बेस क्याम्प जाने ट्रेकिङ रुटको सुधार तथा सेल्टर निर्माण, चुम्चेत हुँदै नुब्री भ्यालीको बिही जोड्ने पर्यटन पदमार्ग निर्माण गर्ने, दुर्घटना तथा विपत्तिबाट मृत्यू भएकाको परिवारलाई काजकिरिया खर्च बापत १० हजार तत्काल उपलब्ध गराउने, चुम र नुब्री भ्यालीमा हेल्थ असिस्टेन्ट दरबन्दी सहितको प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने, चुम र नुब्री तर्फको दुबै नाका खोली सिमा वारपार ब्यापार वृद्धि गर्न चीन सरकारसँग कुटनीतिक पहल गरिने नीति पालिकाले लिएको अध्यक्ष निमा लामाले बताए ।
जडिवुटी प्रशोधन केन्द्र स्थापन गर्ने, बाहिरबाट आउने मदिरा ब्यवस्थापन गरी स्थानीय स्तरमा उत्पादित मदिराका ब्राण्डिङ गर्ने, अति बिपन्न परिवारलाई जिविकोपार्जनमा सुधार हुने गरी सिप तालिम तथा बिउ पुँजी उपलब्ध गराउने नीति गाउँपालिकाले लिएको छ ।
११ औँ गाउँ सभामा अध्यक्ष लामाद्वारा प्रस्तुत नीति कार्यक्रममा सिर्दिबासमा कृषि बिकास बैंक स्थापना गरी किसानलाई सहुलिय ऋण उपलब्ध गराउन पहल गर्ने, प्रत्येक वडामा गाउँघर क्लिनिक संचालन गर्ने, एक घर एक धारा र एक घर एक शौचालय निर्माण प्रक्रिया अघि बढाउने उल्लेख छ ।


