• शुक्रबार, साउन १५ २०८३

मन्त्री फेर्ने विषयमा एकीकृत समाजवादीमा दुई धार


बिहिबार, असार ९ २०७९
640
Shares

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) मा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने विषयमा दुई धार देखिएका छन्।

एक पक्षले तत्कालै मन्त्रीहरू परिवर्तन गरिहाल्नु पर्ने बताएको छ भने अर्को पक्षले हतार गर्न नहुने अडान राखेको छ।

बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा उक्त पार्टीबाट अहिले मन्त्री भइरहेकाहरू पुगेका थिए। अध्यक्ष नेपालसँगको छलफलका क्रममा उनीहरूले राष्ट्रिय सभाबाट बजेट पारित नहुन्जेल मन्त्री फेर्न नहुने बताएका थिए। नेपालको निवासमा मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, प्रेमबहादुर आले पुगेका थिए।

‘मन्त्री क-कसलाई बनाउने भन्ने कुरा पार्टी विधानअनुसार हुने भइहाल्यो,’ छलफलमा सहभागी स्वास्थ्य मन्त्री विरोध खतिवडाले भने,‘हामीले त्यसका लागि राष्ट्रिय सभाबाट बजेट पारित होउन्जेल करौं भनेका हौं।’

एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले भने केही दिन होइन, केही घन्टाभित्रै पार्टीका मन्त्रिहरू फेरिने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार दिउँसो पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले अब त्यो कार्यान्वयन हुने बताएका थिए।

‘मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ। दिनमा होइन घन्टामा मन्त्री हेरफेर हुन्छ,’ उनले भने, ‘कसले कहाँ कोसँग छलफल गर्‍यो भन्ने व्यक्तिगत कुरा हुन्। पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले त्यसअनुसार मन्त्री परिवर्तन हुने हो।’

उनले पार्टीका नेताहरूलाई छ महिनाका लागि मन्त्री पदमा पठाइएको र अहिले आठरनौ महिना भइसकेको उनले बताए।

एकीकृत समाजवादीको आज पनि सचिवालय बैठक बसेको छ। बुधबारको सचिवालय बैठकले मन्त्री फेर्ने निर्णय कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको थियो।

एकीकृत समाजवादीका अर्का उपमहासचिव गंगालाल तुलाधरले प्रधानमन्त्री देउवाले नेपालसँग आज नयाँ मन्त्रीको सपथ गराउने बताएको जानकारी दिए।

गत जेठ २२ गते एकीकृत समाजवादीले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र भवानी खापुङलाई मन्त्री बनाउन लागेको कुरा सार्वजनिक भएको थियो। त्यस्तै हीरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार