• शुक्रबार, साउन १५ २०८३

विदेशका नेपालीलाई मतदानको व्यवस्था मिलाउन गगन र विश्वप्रकाशको माग


सोमबार, असार ६ २०७९
1.4K
Shares

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।

महामन्त्रीद्वय थापा र शर्माले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी निवास बालुवाटारमा भेटेर विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको व्यवस्था मिलाउन आग्रह गरेका हुन्। ‘हामी महामन्त्रीद्वय आज प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थियौँ।

भेटमा हामीले उहाँलाई विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन आग्रह गर्यौँ,’ भेटपछि महामन्त्री शर्माले भने। उनले सर्वोच्च अदालतबाट विदेशमा रहेका नेपालीका लागि मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोग र सरकारको नाममा निर्देशनात्मक आदेश जारी भएको स्मरण गर्दै मताधिकारको व्यवस्थाका लागि कानुनी प्रक्रिया अघि बढाउन जरुरी रहेको बताए।

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार रहेको भन्दै सर्वोच्चले २०७४ चैतमा मतदानको व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको थियो।

न्यायाधीश सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको इजलासले भनेको थियो, ‘वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपाली कामदारहरुको मतदानको हक सुनिश्चित गर्न र सो को लागि मुलुक बाहिरबाट समेत मतदान गर्न सक्ने गरी व्यवस्था गर्नू।’

महामन्त्री शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवा सकारात्मक रहेको पनि जानकारी दिए। उनले मंगलबार मतदानको व्यवस्थाका बारेमा निर्वाचन आयोगसँग दुवै महामन्त्रीले छलफल गर्ने पनि बताए। 

‘विदेशमा रहेका नेपालीका लागि मतदानको व्यवस्था मिलाउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ,’ शर्माले नेपालखबरसँग भने, ‘यसबारे थप छलफल गर्न हामी महामन्त्रीद्वय भोलि (मंगलबार) बिहान ११ बजे प्रमुख निर्वाचन आयुक्तसँग छलफल गर्न जाँदैछौँ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार