
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जालझेल र तिकडमबाट मात्रै शेरबहादुर देउवा प्रधानमन्त्री हुने गरेको बताएका छन्।
पार्टीबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिलाई आज काठमाडौंमा प्रशिक्षण दिँदै ओलीले देउवा निर्वाचन जितेर हैसियतसहित प्रधानमन्त्री नबनेको दाबी गरेका थिए। ‘मुद्दा मामिलामा गएर कांग्रेसले प्रधानमन्त्री ल्याउने गरेको छ।
अहिले पनि शेरबहादुरजीले मुद्दा मामिला गरेर प्रधानमन्त्री जितेर ल्याउनुभयो,’ ओलीले भने, ‘०५२ साल भदौ १२ मा पनि शेरबहादुरजी मुद्दा मामिलाबाट जित्नुभएको थियो।’ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचनपछि ुहैसियतु सहित प्रधानमन्त्री नभएको पनि बताएका थिए।
‘शेरबहादुरजी निर्वाचित भएर फेस प्रधानमन्त्री कहिल्यै हुनुभएको छैन। जालझेल र तिकडमबाट शेरबहादुरजी प्रधानमन्त्री हुनुभएको छ,’ उनले भने, ‘उहाँ हैसियत प्राप्त गरेर प्रधानमन्त्री भएको होइन।’


