
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भएपछि प्रतिगमन परास्त भएको टिप्पणी गरेका छन्।

पेरिसडाँडामा ओयोजित दोलखा जिल्लाका शहिद रित बहादुर खड्काको २१ औं स्मृति सभामा बोल्दै प्रचण्डले स्थानीय निर्वाचन सम्पन्न गरेर संविधानको रक्षा आफूहरुले गरेको दाबी गरे।
‘गठबन्धन गरेपछि प्रतिगमनको प्रवृत्ति परास्त भयो,’ उनले भने, ‘भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ, मैले प्रतिनिधिसभामा बोल्दा भनेको छु, यो निर्वाचनमा हाम्रो लागि र माओवादी केन्द्रको अध्यक्षको हैसियतले कुन पार्टीले कति जित्यो भन्ने ठूलो कुरा होइन्।’
उनले संविधान अन्तर्गत निर्वाचन सफलताका साथ सम्पन्न भएको दाबी गरे। ‘ठूलो कुरा निर्वाचन यही संविधान अन्तर्गत सफलताका साथ सम्पन्न भयो,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘यो संविधानलाई च्यातेर भाँचकुच पार्ने प्रयास भएको छ।’
गठबन्धनलाई अझ बलियो पार्ने र विकास र समृद्धिको नयाँ यात्राका लागि बढाउन जरुरी भएको बताए। प्रचण्डले एसपीपीबारे वर्तमान सरकारले कुनै सम्झौता नगरेको भन्दै सन् २०१९ मा केपी ओलीकै पालामा बनेको सरकारले कार्यान्वयनमा लगेको दाबी समेत गरेका छन्।


