गोरखा । पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि, कृषि मल अभाव लगायतको बिरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) गोरखाले प्रमुख जिल्ला अधिकारीलाई २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएकाे छ ।



बुधबार प्रजिअ शंकरहरी आचार्यमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै राप्रपाले पेट्रोलियम पदार्थसंगै गरिएको सबै सामग्रीको मूल्यवृद्धि तत्काल रोक्न माग गरिएको छ । साथै रोपाईँका बेला भएको मल तथा बिउ अभावको समस्या तत्काल समाधान गर्न आग्रह गरिएको छ ।
‘तत्काल मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गरियोस्’, कार्यबाहक अध्यक्ष भीषण अर्यालद्वारा जारी ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘तत्काल किसानलाई मल तथा बिउ उपलब्ध गराइयोस् । भ्रष्टाचार नियन्त्रण गरियोस् ।



२०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गरियोस् । मन्त्रीपरिषदबाट निर्णय गरी हुदै आएको नीतिगत भ्रष्टाचारका बिषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याइयोस् । इम्बोस्ट नंबरप्लेटको अवधारणा खारेज गरियोस् ।
संविधानमा रहेको धर्म निरपेक्षता हटाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र घोषणा गरियोस् ।’ ध्यानाकर्षण पत्रमा विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था मिलाउन, नीजगढ विमानस्थल निर्माण प्रक्रिया सुरु गर्नुपर्नेलगायतका २२ वटा वुँदाहरु समेटिएका छन् ।
सो ध्यानाकर्षण पत्रमा मुलुकलाई एउटै निर्वाचन क्षेत्र कायम गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनु पर्ने, केन्द्र र स्थानीय दुई तह मात्र कायम गरी प्रादेशिक तह खारेज गर्नुपर्ने, आगामि प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गराउन चुनावी सरकार गठन गर्नुपर्ने लगायतका मागहरु समेटिएका छन् ।