

गोरखा । स्थानीय तहको निर्वाचनमा अप्रत्यासित हार ब्यहोरेको नेपाली काँग्रेसले एक महिनापछि आफ्नो धारणा सार्वजानिक गरेको छ ।
पाँच बर्षअघि गोरखाका ११ मध्ये ९ स्थानीय तह जितेको काँग्रेसले गत बैशाख ३० गते भएको निर्वाचनमा भने मतपरिणम उल्टिएर ९ पालिका गुमाउन पुग्याे । निर्वाचनमा नसोचेको हार ब्यहोरेपछि मौन रहेको गोरखा काँग्रेसले एक महिनापछि आफ्नो धारणा सार्वजानिक गरेको हो ।



बुधबार पार्टी कार्यालय तिनधारेमा पत्रकार सम्मेलन गर्दै जिल्ला सभापति नन्द प्रसाद न्यौपानेले जिल्लाभरको मतपरिणाम समिक्षा गर्दा काँग्रेसले लोकप्रिय मत पाएको तर आन्तरिक र बाह्य केहि कारणले चुनावमा हार ब्यहोर्नुपरेको दावी गरे ।
गएकाे सोमबार र मंगलबार पार्टीका नेता तथा कार्यकर्ता साथै निर्वाचनमा उम्मेदवार बनेकाहरुको उपस्थितीमा समिक्षा कार्यक्रम आयोजना गरेको काँग्रेसले चुनाव हार्नुमा ‘अन्तरघात’ मुख्य कारण रहेको निष्कर्ष निकालेको छ ।
‘जिल्लाको ९४ वटै वडाको मत हेर्दा हामीले सबैभन्दा बढी लोकप्रिय मत ल्याएका छौ’ सभापति न्यौपाले भने ‘तर प्राविधिक कारणले ९ पालिकाको प्रमुख गुमायौ, यसमा आन्तरिक र बाह्य सबै कारणहरु छन् ।’


पत्रकार सम्मेलनमा काँग्रेसले चुनावी नतिजाको तथ्यांक समेत सार्वजानिक गरेको छ । जसमा खसेको मतमा ४४ दशमलव ३५ प्रतिशत मत काँग्रेसले प्राप्त गर्दा ४२ दशमलव २९ मत नेकपा माओवादी केन्द्रले, एमालेले १० र जसपाले ३ प्रतिशत मत ल्याएको तथ्यांकमा उल्लेख छ ।

‘मतका आधारमा हामी कमजोर छदै छैनौ, तरपनि हार्नुमा केहि फ्याक्टरहरु छन्, जसमा अन्तरघात प्रमुख कारण बन्यो भने अर्को अरु दलवीचको घोषित र अघोषित गठबन्धन हो’ सभापति न्यौपाने भने ‘हामी तल्लो तहबाटै समिक्षाका क्रममा छौ, अन्तरघात गरेको प्रमाणित भए पार्टीका जुन सुकै तहका नेतालाई पनि कारबाहीका लागि सिफारिस गर्छौ ।’



काँग्रेसको कृयाशिल सदस्यता लिएर अरु दलमा भोट हाल्ने स्वतन्त्रता पार्टीले नदिएको भन्दै उनले काँग्रेसका नेता र कार्यकर्ताले चुनावमा फरक पार्टीसंग प्रतिष्प्रर्धा गर्दैछौ भन्ने बिर्सदा मतपरिणाम सोचे भन्दा फरक आएको न्यौपानेको भनाई छ ।
गठबन्धन नगर्दा चुनाव हारियो भन्ने भ्रममा आफुहरु नरहेको बताउदै उनले मतपरिणामले काँग्रेस कत्तिपनि विचलित नभएको जिकिर समेत गरे । साथै उनले मतपरिणाम जस्तो आएपनि काँग्रेस जनताको सुखदुख र सेवामा लागिरहने बताएका छन् ।
गोरखामा काँग्रेसले २ पालिकामा प्रमुख र ५ पालिकामा उपप्रमुख जितेकाे थियाे भने माओवादीले ९ पालिकामा प्रमुख जितेकाे छ ।

