
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गरेका हुन्।
केही समयमा निर्वाचनको मिति घोषणा हुने भएकाले प्रजातन्त्रप्रति विश्वास छ भने निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामाथि विश्वास गरि वर्तमान सरकार स्वतन्त्र चुनावी सरकार गठन गर्न सहमत हुनुपर्ने उनले बताए।
‘हामी आफ्नो कार्यकालको अन्तिम अधिवेशनमा छौं। यो सरकारलाई प्रजातन्त्रप्रति, स्वतन्त्रताप्रति, निष्पक्षताप्रति विश्वास छ भने अव केही समयमा आम निर्वाचनको मिति घोषणा हुँदैछ। राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट म माग गर्न चाहन्छु–निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि स्वतन्त्र चुनावी सरकारको गठन होस्,’ उनले भने। अध्यक्ष लिङदेनले राष्ट्रियतालाई फेरी पनि संकटमा पार्ने गरी अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीसी० ल्याएको भन्दै तत्काल रोक्न पनि सरकारलाई पटकपटक सचेत गराए।


