गोरखा । लकडाउनका कारण दैनिक ज्यालादारीको जीवन कष्टकर बनेको भन्दै नेपाली काँग्रेस गोरखाले राहतको प्याकेज ल्याउन सरकार समक्ष माग गरेको छ ।
कोरोना भाइरस (कोविड १९) को संक्रमण फैलिन नदिन र जोखिम कम गर्न भन्दै सरकारले मंगलबारदेखि लकडाउन घोषणा गरेको थियो । लकडाउनका कारण दैनिक मजदुरी गरेर परिवार धान्दै आएका न्यूनआयस्तर भएकाको जीवन कष्टकर बनेको काँग्रेसको ठहर छ ।
शुक्रबार काँग्रेस गोरखाले एक अनुरोध पत्र जारी गर्दै त्यस्ता नागरिकलाई मध्यनजर गर्दै स्थानीय, प्रदेश र केन्द्र सरकारले राहतको प्याकेज ल्याउनुपर्ने माग गरिएको हो । नेपाली काँग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपानेद्धारा हस्ताक्षरित पत्रमा जिल्लामा रहेका अस्पतालहरुमा प्रयाप्त मात्रामा औषधी, उपकरण र दक्ष जनशक्तिको ब्यवस्था गर्न समेत माग गरिएको छ ।
जिल्ला अस्पतताल गोरखा, आँपपिपल, जौबारी, आरुघाट,मकैसिङ लगायतका अस्पतालमा औषधी, पिपिइ, थर्मोगन लगायत जनशक्तिको तत्काल ब्यवस्था गर्नुपर्ने अनुरोध पत्रमा उल्लेख छ ।
त्यस्तै कोरोनाको महामारीको यो बेला केही दिनयता विभिन्न देशबाट ३० जना गोरखामा आएको भन्दै उनीहरुलाई क्वारेण्टाइनमा राखेर नियमित स्वास्थ्य परीक्षण गर्न माग गरिएको छ ।
त्यस्तै पर्याप्त मात्रामा आइसोलेशन वार्ड, क्वारेण्टाइन स्थल तयारी अबस्थामा राख्न पनि माग गरेको छ ।
काँग्रेसले यो बेलामा दैनिक उपभोग्य सामानको कृतिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने जस्ता क्रियाकलाप हुनसक्ने भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गरिएको छ ।
यस्तो छ अनुरोधपत्रको पूर्ण पाठ :
मिति २०७६ चैत १४
कोरोना भाइरस (कोभिड १९) सम्बन्धि
नेपाली काँग्रेस गोरखाको अनुरोध
प्रस्तुत सन्दर्भमा कोरोनो भाइरस अर्थात कोभिड १९ ले विश्वब्यापी रुपमा महामारीको रुप लिइसकेको स्थितीमा गोरखा जिल्लाले अपानाउनु पर्ने सतर्कता बिषयमा हामी सबै गम्भिर छौ । जोखिमलाई सामना गर्न जिल्ला दैवी प्रकोप उद्दार समिती गोरखा, स्थानीय तह, नागरिक समाज, जिल्लामा कृयाशिल सम्पूर्ण सामाजिक संघसंस्था, सञ्चार माध्यम सबैले गर्दै आएको प्रयास र काम प्रति नेपाली काँग्रेस जिल्ला कार्यसमिति गोरखा हार्दिक धन्यवाद दिन चाहान्छौ ।
साथै तिनै तहका सरकारको कार्यमा हाम्रो सधै पूर्ण साथ, सहयोग र समर्थन रहनेछ । नेपालमा अहिलेसम्मको परिक्षणबाट ३ जनालाई कोरोना भाइरसको लक्षण पोजेटिभ देखिएकोमा एक जना उपचारपछि निको भएर घर फर्केको र २ जनालाई काठमाण्डौ स्थित टेकु अस्पतालमा उपचार भइरहेको छ ।
तर शंकास्पद बिरामीहरुको परिक्षण सरकारले युद्धस्तरमा गर्नुपर्ने र तिनै तहको सरकारहरु त्यसप्रति गम्भिर भई तयारीमा लाग्नुपर्ने अवस्था देखिएको छ । यसका लागि नेपाली काँग्रेस जिल्ला कार्यसमिति गोरखा जोडदार माग गर्दछ ।
साथै कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न र जोखिम न्यूनिकरणका गर्न तथा क्वारेनटाइनमा रहेका सर्वसाधारणको जनजिवन सहज बनाउन तिनै तहका सरकारी निकायले निम्नलिखित काम तत्काल अघि बढाउन समेत नेपाली काँग्रेस गोरखा अनुरोध गर्दछ ।
(१) सरकारले चैत १८ गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ । लकडाउनका बेला आम नागरिकले अत्यावश्यक कामबाहेक घरमै बसेर सहयोग गर्न अनुरोध गर्दछौ ।
(२) भारत लगायत तेस्रो मुलुकबाट हालसम्मको तथ्यांक अनुसार ३० जना जिल्ला भित्रिएका छन् । तत्काल उनिहरुलाई सम्पर्कमा ल्याई स्वास्थ्य परीक्षणको ब्यवस्था मिलाउने, निगरानीमा राख्ने, क्वारेनटाइनमा राख्न ब्यवस्था गर्नेजस्ता काम स्थानीय तहको समन्वयमा गर्न अतिआवस्यक देखिन्छ । परीक्षणको काम ढिला नगर्न हामी पुनः सचेत गराउँछौं । विदेशबाट आउने ब्यक्तिहरु समेत आफैं सचेत भएर परीक्षणका लागि अस्पताल जान अनुरोध गर्दछौ ।
(३) संभावित जोखिम सामनाका लागि दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइन र आइसियुसम्मको अभाव हुन नदिन स्थानीय, प्रदेश र केन्द्र सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने आवस्यकता रहेको छ । साथै जिल्ला अस्पताल गोरखा, आँपपिपल, जौबारी, आरुघाट, मकैसिङ लगायत मुख्य अस्पतालमा औषधि, जनशक्ति, उपकरणलगायत आवश्यक सामग्री व्यवस्थापनका लागि केन्द्र र प्रदेश सरकारबाट सहयोग लिई स्थानीय तहले कार्य अघि बढाउन आवस्यक छ ।
(४) अत्यावश्यक खाद्यान्नको थप मूल्यवृद्धिसँगै कालोबजारी हुने सम्भावना पनि उत्तिकै छ । बजारमा सरकारका सम्बन्धित निकायहरूको उपस्थितिबाट उपभोक्ताको हित संरक्षण जरुरी रहेको आवश्यकता औंल्याउन चाहन्छौं ।
(५) सेल्फ क्वारेन्टाइनमा रहेका बिशेष गरि गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकाहरुलाई अत्यन्तै कष्टकर अवस्था बन्ने देखिन्छ । तिनका लागि राहतको योजना ल्याउन स्थानीय, प्रदेश र केन्द्र सरकार समक्ष नेपाली काँग्रेस गोरखा माग गर्दछ।
(६) समस्त नेपाली र जिल्लावासी दाजुभाइ, दिदीबहिनीमा कोरोनाबाट सतर्क रहन र एक भएर यसको सामना गर्न नेपाली काँग्रेस जिल्ला कार्यसमिति गोरखा हार्दिक अपिल गर्दछौं ।
यो विपत्तिको समयमा हामी पनि तपाईहरुकै साथमा छौ ।
जय नेपाल ।
नन्दप्रसाद न्यौपाने
सचिव
नेपाली कांग्रेस, जिल्ला कार्यसमिति गोरखा