• शुक्रबार, साउन १५ २०८३

महामन्त्री थापा भन्छन- हामीले मल दिन सकेनौँ, किसानको आँसुले हामीलाई पोल्छ


बुधबार, जेष्ठ २५ २०७९
990
Shares

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले रासायनिक मल दिन नसक्दा किसानको आँसुले पोल्ने बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले किसानलाई मल दिन नसक्दा उनीहरूको आँसुले पोल्ने बताएका हुन् । उनले सरकारले मल दिन नसकेपछि भारतबाट किसानले आफैँ मल ल्याउँदा उनीहरूले ल्याएको मल खोसेर सरकारले बहादुरी देखाउने गरेको स्मरण गरे । ‘हामी मल दिन सक्दैनौं ।

उनीहरू आँफैले पारिबाट ल्याएको मल खोसेर पोखिदिन्छौँ,’ थापाले भने, ‘हामीलाई उनीहरू (किसान) को आँसुले पोल्छ ।’ थापाले अघिल्ला वर्षहरूमा जस्तै यो वर्ष पनि मल अभावको चक्र तोड्न सरकार असफल बनेको बताए ।

‘मनसुनको समय सुरू हुँदै गर्दा वर्षौदेखि अभावको चक्र यो वर्ष पनि तोड्न सकेनौँ,’ थापाले भने, ‘हामी सबै काम गर्छौ तर मल आउँदैन ।’ यद्यपि, यो वर्ष मल ल्याउन नसकेपनि आगामी वर्षका लागि तयारी गर्नतर्फ लाग्नुपर्नेमा त्यसो पनि गर्न नसकिएकोमा उनले गुनासो पोखे ।

सरकारले प्रत्येक वर्ष मल किन्न अर्बौ बजेट छुट्याउने भएपनि मल ल्याउन नसकिएको उनको भनाइ छ । प्रत्येक वर्ष बजेट छुट्याइन्छ । तर, त्यसअनुसार मल ल्याउने सबै प्रक्रिया पुरा गर्दा २०० भन्दा धेरै दिन लाग्छ ।

त्यसैले अब मल किन्ने पुरानो प्रवृत्तिबाट माथि उठ्नुपर्ने थापाको भनाइ छ । ‘आवश्यक स्रोत र ऐन/कानून मिल्दा–मिल्दै तथा सबैकुरा ठीकठाक हुँदाहुँदै पनि काम गर्न सक्दैनौं । यसमा किसानको आँसुले हामीलाई पोल्छ ,’ थापाले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार