• शनिबार, साउन ९ २०८३

यौन-सम्पर्कबाट चाहिँ सर्छ कि सर्दैन कोरोना ? यसो भन्छन् विज्ञ


बिहिबार, चैत्र १३ २०७६
935
Shares

यतिबेला विश्व नै कोरोनामय भएको छ। अर्थात् अहिले सिंगो संसार कोरोना भाइरस (कोभिड १९) काे संक्रमण हुने सन्त्रासमा छ।

बिहीबार बिहान साढे ७ बजेसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २१ हजार २०० पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यसैगरी यसको संक्रमणमा अहिलेसम्म ३ लाख ३३ हजार २ सय ३५ मानिस परिसकेका छन्।

यो अहिलेसम्मकै नयाँ किसिमको भाइरस भएकाले यो कसरी सर्छ, कहाँ, कतिन्जेल बाँच्छ, यसबाट बच्न के गर्नुपर्छजस्ता विषयमा अनुसन्धान आउने क्रम जारी छ।

सँगसँगै यो भाइरसको संक्रमणबाट बच्न बारम्बार साबुन-पानीले हात धुने, मास्क लगाउने र खासगरी संक्रमितले खोक्दा र हाच्छिउँ गर्दा निस्कने थुकका छिटाबाट यो भाइरस सर्ने भएकाले त्यस्ता क्रियाकलापबाट सुरक्षित रहन चिकित्सकले सुझाव दिइरहेका छन्।

विशेषगरी कोरोना भाइरस संक्रमित व्यक्तिको थुक तथा र्‍यालमा रहन्छ भनेर यस क्षेत्रका विज्ञले बताइरहेका छन्। त्यसैबाट बच्न हात साबुन-पानीले धोइरहने तथा स्यानिटाइजर लगाउन सल्लाह उनीहरुले दिइरहेका छन्।

तर अहिले यो त्राससँगै धेरै मानिसमा लुकेको एउटा जिज्ञासा यो पनि हुन सक्छ- यो भाइरस यौन-सम्पर्कबाट चाहिँ सर्ने हाे कि नसर्ने हाे? यो कुराचाहिँ किन भनिरहेका छैनन्, चिकित्सक?

यही प्रश्न बिहीबार बिहान टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालस्थित मेडिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनलाई राख्दा उनले यसो भने-

हो, मानिसमा यो सोचाइ पनि पक्कै आइरहेको होला। यस विषयमा छोटो शब्दमा म के भन्छु भने यो कुराको वैज्ञानिक आधार छैन।अर्थात्  काेराेना याैन-सम्पर्कबाट सर्छ भन्ने विषयमा अहिलेसम्म कतैबाट प्रमाण प्राप्त भएकाे छैन। 

हुन त यस विषयमा अनुसन्धान नभईकन हामीले बोल्न मिल्दैन। किनकि अहिलेसम्म विश्वमा यस पक्षमा कहीं कतै अनुसन्धान भएकै छैन। त्यसकारण अहिले मैले यो विषयमा यसै हुन्छ भनेर बोलें भने त्यसको जवाफदेही म हुनुपर्ने हुन्छ। 

तर म फेरि के भन्छु भने यौन-सम्पर्कबाट कोरोना भाइरस सरेको पुष्टि अहिलेसम्म कतैबाट भएको छैन। अर्थात् यसको वैज्ञानिक आधार छैन। नत्र चीनमा त्यत्रो संक्रमण फैलियो, इटालीमा त्यति धेरै मानिस मरे।  

यदि यौन सम्पर्कबाट पनि कोरोना सर्ने भए त अहिलेसम्म कुनै न कुनै त्यस्तो घटना पनि सार्वजनकि हुनुपर्ने। त्यस्तो त पाइएको छैन। त्यसकारण मेरो जवाफ अहिलेलाई यही हुन्छ कि यसको वैज्ञानिक प्रमाण छैन।

तपाईंलाई एउटा कुरा स्मरण गराऊँ, जतिबेला डेंगु फैलिरहेको थियो, त्यतिबेला श्रीमान श्रीमती छुट्टै कोठामा बसेर भातभान्सै अलग गरिएका समाचार पनि हामीले सुन्यौं। जसले सम्बन्धै बिगार्ने स्थिति पनि आए।

तर यौन सम्पर्कबाट डेंगु सरेको घटना खासै सुनिएन। तर पनि युरोपमा एउटा घटना सार्वजनिक भयो कि यौन सम्पर्कबाट पनि डेंगु सर्यो भन्ने। संसारमा त्यही एउटा मात्रै घटना हो।

सयमा सय त कुनै कुरा पनि हु्रन्न। अपवाद जेमा पनि हुन्छ, तर त्यो यौन सम्पर्कबाट डेंगु सरेको घटनामा पनि वैज्ञानिक पुष्टिचाहिँ भएको छैन।

अब यो कोरोना भाइरसका सम्बन्धमा पनि चीनका वैज्ञानिक कति फास्ट छन्, अनुसन्धान गर्न। तर खै अहिलेसम्म यौन सम्पर्कबाट कोरोना सर्यो भन्ने कुरा बाहिर आएका छैनन्। यसकारण मलाईचाहिँ यौन सम्पर्कबाट कोरोना सर्छ भन्ने कुरामा विश्वास छैन।

Nepalkhabar

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार